काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशलाई सुरुङमा प्रवेश गराउनु ऐतिहासिक काम भएको बताएका छन्।
चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले कहाँ कहाँ पहाड छेडेर छिटो सडक बनाउन सकिन्छ भन्ने विषयको अध्ययन भइरहेको जानकारी गराए।
‘चित्लाङ, लामाबगर, खुर्कोटलगायत सात स्थानमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ, अबको पूर्वाधार निर्माणमा सुरुङमार्गलाई प्राथमिकतामा राखिन्छ, साँढे तीन वर्ष म्याद तोकिए पनि बढीमा तीन वर्षमा बनाइसक्ने भनी निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ’, उनले भने।
काठमाडौँ उपत्यकामा रोकिएका सडक आयोजना फागुन मसान्तअगावै सक्न सडक विभागलाई निर्देशन दिइएको उनले बताए । फागुनपछि नयाँ काठमाडौँ हुने मन्त्री महासेठको प्रतिबद्धता छ। अब समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरमा ल्याउने उनको भनाइ थियो।