Wednesday, November 20, 2024

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, दैनिक ५ डिग्री तापक्रम घट्ने

काठमाडौँ– पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा सामान्यदेखि पूर्णबदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ । मध्य र पूर्वका थोरै स्थानहरूमा र पश्चिमका एक वा दुइ स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

यस्तै आज घाम लाग्ने सम्भावना भने कम रहेको र घाम लागे पनि थोरै समयका लागि मात्र देखिने मौसमविद् मिन कुमार अर्यालले बताएका छन्। घाम नलाग्दा अधिकतम तापक्रममा गिरावट आई चिसो बढेकाे उनको भनाइ छ।

नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम् तापक्रम घट्ने क्रममा रहेको उनले जानकारी दिए। ‘केही दिनदेखि तापक्रम ३ देखि ५ डिग्री कम हुँदैछ,’ उनले भने।

अरब सागरबाट नेपाल वहने पश्चिमी जलवायुक्त हावाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको उनले बताए। त्यस्तै भोली (मंगलबार) देशका मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार दिउँसो देशका मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टा पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले पूर्वी तथा मध्य हिमाली भेगका स्थानहरूमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन महाशाखाले जनाएको छ।

सोमबार बिहान काठमाडौँको तापक्रम १५ डिग्री सेल्सियस रहेको थियो भने अहिले काठमाडौँको तापक्रम २५ डिग्री सेल्सियस रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार