Monday, September 22, 2025

नागढुङ्गा-नौबिसे सुरुङमार्गको शिलान्यास आज

काठमाडौँ– सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास सोमबार (आज) हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेर ४५ मिनेटमा चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्गको शिलान्यास गर्नेछन्।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक श्यामप्रसाद खरेलले २ दशमवल ६५ किलोमिटर लम्बाइको सुरुङ मार्ग ४२ महिना अर्थात साढे ३ वर्षमा निर्माण सम्पन्न हुने हाकाहाकीलाई बताए। जापानी कम्पनी हाज्मा एन्डोले निर्माणको जिम्मा पाएको छ।

‘सरकारले एन्डोलाई निर्माण सम्पन्न गर्न साढे ३ वर्षको समय दिइको हो,’ उनले भने, ‘अष्ट्रेलियन टनेलिङ मेथडबाट यो सुरुङमार्ग बन्ने छ।’

आज सोमबार शिलान्यास भए पनि उक्त सुरुङको निर्माण भने तत्कालै शुुरु नहुने खरेलले बताए। ‘सन् २०२० भन्दा अगाडि निर्माण कार्य शुरु हुन्छ,’ उनले भने।

शिलन्यासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, जिल्लाका सांसद, नेपालका लागि जापानका राजदूत, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि, सडक विभागका प्रतिनिधि, परामर्स पदाधिकारिलगायतको सहभागिता रहनेछ।

नागढुङ्गा–नौबिसे साढे २.६५ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न नेपाल र जापान सरकारबीच २०७३ पुष ३ गते सम्झौता भएको थियो। जापान सरकारको १६ अर्ब रुपैयाँ ऋण सहयोग सम्झौतामा तत्कालिन अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका प्रमुख जुन साकुमाले हस्ताक्षर गरेका थिए।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको जानकारी दिँदै उनले करिब छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने बताए। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ। त्यस्तै वायु गुठीको जग्गाको मुआब्जाको विवाद पनि टुंगिएको छैन।

कस्तो हुनेछ सुरुङमार्ग?
सम्झौता अनुसार धादिङतिरको सुरुङ मार्ग निर्माण कार्य काठमाडौँसँग सीमा जोडिएको सिस्ने खोलाबाट शुरु हुनेछ। सुरुङ मार्ग काठमाडौँ तर्फ चन्द्रागिरी नगरपालिका वडा नं १ मा निस्कने निर्देशक खरेलले बताए।

सुरुङ मार्गमा दुई वटा सुरुङ निर्माण हुनेछ। एउटा सुरुङमा सवारी गुड्नेछ भने अर्को दुर्घटनाको अवस्थामा उद्दार लागायतका कार्यमा प्रयोग हुनेछ।

सुरुङमार्गमा सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरू, वर्कशप, पार्किङ, सुरुङ सञ्चालन कार्यालयलगायतका पूर्वाधारसमेत निर्माण गरिने खरेलले जानकारी दिए।

सुरुङलाई सुरक्षित बनाउन बत्ति, आकस्मिक पार्किङ, लाउड स्पिकर, सीसीटीभी क्यामेरा, बाहिर निस्कने मार्ग, पर्याप्त अक्सिजनका लागि भेन्टिलेशन लगायतका व्यवस्था गरिने उनको भनाइ छ।

उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए। सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ। सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो।

परियोजनाको कूल लागत २० अर्ब ४० करोड रुपैयाँ हुने अनुमान जाइकाको छ। २२ अर्बको आयोजनामा १६ अर्ब ऋण जापानसँग लिइएको हो भने ६ अर्ब रकम नेपालले लगानी गर्दैछ। जापान सरकारको अफिसियल डेभलपमेन्ट असिस्टेन्स (ओडिए) अन्तर्गत प्राप्त हुने ऋणको ब्याजदर ०.०१ प्रतिशत रहनेछ। ऋण भुक्तान गर्ने अवधि ४० वर्षको रहेको छ।

सो सुरुङमार्गको निर्माणले बढ्दो ट्राफिक जामको समस्या समाधान गर्दै यात्रालाई सहज बनाउने दाबी सरकारी निकायको रहदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार