काठमाडौँ – साझा यातायात र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच बस छनौटको विषयमा विवाद उत्पन्न भएपछि सरकारले साझालाई विद्युतीय बस खरिदको प्रक्रिया रोक्न निर्देशन दिएको छ।
साझाले मन्त्रिपरिषद्को निर्णय अनुरुपको बस खरिद नगरेको भन्दै यातायात मन्त्रालयले पत्र मार्फत उक्त प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
गत वर्ष ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेपछि सरकारले साझालाई ३० असारमा ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । तर, अहिले सरकार आफैँले उक्त बस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ।
मन्त्रालयका अनुसार साझाले सरकारले भने बमोजिमको नगरी आफ्नै तवरले बस खरिद गर्न लागेपछि खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको हो।
हाकाहाकीसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले साझाले मन्त्रिपरिषद्मा भएको निर्णय बमोजिमको विद्युतीय बस खरिद नगरी अरु नै किन्न लागेकोले केही समयलाई खरिद प्रक्रिया रोक्न निर्देशन दिएको बताए ।
‘साझाले किन्न लागेको बसमा मन्त्रिपरिषद् बैठकले तोकेजस्तो सामाग्री नभएकाले हाललाई खरिद प्रक्रिया रोकेका हौँ,’ उनले भने, ‘साझाले आफूखसी सामानमा हेरफेर गर्यो।’
तर, साझा यातायात भने सरकारले आफूहरूलाई यस्तै बस खरिद गर भनेर नतोकेको बताउँछ। साझाका कार्यकारी निर्देशक भुषण तुलाधरका अनुसार विद्युतीय बसको खाका दिएपनि यस्तै बस किन्नु पर्छ भनेर तोकिएको थिएन।
‘सरकारले ठ्याक्कै यही बस किन भनेर भनेको थिएन,’ उनले भने, ‘हामीले बसको इन्जिन क्षमता, सिट, ब्याट्री लगायतलाई ध्यानमा राखेर बस खरिद गर्न लागेका थियौँ।’
यसका साथैसँगै साझाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ महानगर र ललितपुर महानगरका प्रतिनिधिसँग छलफल गरी कस्तो खाले बस किन्ने भन्ने विषयको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको निर्देशक तुलाधरले जानकारी दिए।
तर, मन्त्रालयले भने आफूहरूलाई बस खरिद प्रक्रियामा कुनै पनि प्रगति नभएको भन्दै रोक्न निर्देशन दिएको तुलाधर बताउँछन् ।