Monday, September 22, 2025

निर्माण सामाग्रीको परिमाण घटाएर ठगी गर्ने २३ डिपो सञ्चालक पक्राउ

काठमाडौँ– निर्माण सामाग्री इँट्टा, गिट्टी, बालुवा, चिप्स र ढुंगा ढुवानीमा ठगी गर्ने उपत्यकाका विभिन्न २३ वटा डिपोका सञ्चालकहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

ढुवानी गर्ने मिनि ट्रकहरूमा ५ ईन्चसम्मको फलामे र काठको बक्स बनाई परिमाण कम गरी ठगी गर्ने संचालकहरूलाई प्रहरीले पक्राउ गरेको हो।

एसएसपी सहकुल बहादुर थापाको नेतृत्वको अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। हाकाहाकीसँग कुरा गर्दै एसएसपी थापाले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको बताए।

प्रहरीले लोड गरी ढुवानी गर्न तयारी अवस्थामा रहेका सामाग्रीसहित डिपोका संचालक, सवारी चालक एवम् सवारी साधन समेतलाई नियन्त्रणमा लिएको हो।

उपत्यकामा मात्रै नभई देशको अन्य स्थानमा पनि फलामे र काठको बक्स बनाइ ठगी गर्दै आएको गुनासो बढेकाले उक्त कार्यलाई रोक्न प्रहरीले विशेष योजना अघि बढाएको थापाले जानकारी दिए।

पक्राउ पर्ने डिपो संचालकहरुमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र ईन्टरप्राईजेज सप्लायर्सका वीरेन्द्र कुईकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दिपेन्द्र केसी, कामना ईन्टरप्राईजेजका बद्री गिरी, जेबिएस सप्लायर्सका बाघे भन्ने सुक बहादुर लामा रहेका छन्।

त्यस्तै शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाँडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्याम बहादुर मगर, नो नेम सप्लायर्सका पुष्कर थापा, श्री काली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोप नारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ।

आर्कष सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका विजय भन्ने जोग बहादुर तामाङ, गोरखाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंह बहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठसमेत पक्राउ परेका छन्।

महाशाखाका अनुसार ग्राहकहरुलाई १ सय क्यूफिट प्रति ढुवानी भनि बिक्री गर्दा जम्मा ८२ दशमलब ६३ क्यूफिट मात्र ढुवानी हुने गरेको र प्रति ढुवानीमा १ हजार ६ सय २० रुपैयाँदेखि २ हजार २ सय रुपैयाँसम्म ग्राहकहरुलाई नोक्सानी हुने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोे छ।

अनुसन्धानको क्रममा २३ जान डिपो संचालक ३५ जान सवारी चालक र ३५ वटा सवारी साधन रहेको महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार