महेन्द्रनगर – सन् १९४५ मा संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन स्थापना भएसँगै हरेक वर्ष अक्टुबर १६ मा विश्व खाद्य दिवस संसारभर मनाइन्छ। यस वर्ष ‘हाम्रो पहलः स्वस्थ्य आहार, भोकमुक्त संसार’भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।
विश्व खाद्य दिवसको अवसरमा कञ्चनपुरमा जिल्ला खाद्य अधिकार संजालको आयोजनामा ‘खाद्य अधिकार तथा गुणस्तरको अवस्थाबारे सरोकारवालासँग छलफल गरिएको छ। छलफल कार्यक्रमका सहभागीले किसानले भोगिरहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। यस्तै सहभागीले बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, सिँचाई सुविधा नभएका क्षेत्रमा सिँचाई पुर्याउनु पर्ने र जंगली जनावरबाट हुने क्षतिको किसानले क्षतिपुर्ती समयमा पाउनु पर्नेमा जोड दिएका छन्।
सरोकारवाला निकायले हात्तिले नोक्सान गरेको बालीको क्षतिपुर्ती किसनलाई समयमै दिुनुपर्ने खाद्य अधिकारकर्मी भगवती थापाले बताइन्। ‘प्रत्येक वर्ष कञ्चनपुर जिल्लामा हात्तिले किसानले लगाएको अन्नबाली नोक्सान गर्छ,’ उनले भने,‘ऐलानी जग्गामा बसोबास गर्ने किसानले क्षतिपुर्ती पाउँदैनन्, अब राज्यले ऐलानीमा बसोबास गर्ने किसानलाई पनि क्षतिपुर्तीको व्यवस्था गर्नुपर्छ ।’ सरकारले समयमा धानको मूल्य निर्धारण नगर्दा किसानले सस्तोमा धान बिक्री गर्नु परेको उनको भनाई छ।
‘सरकारले जहिले पनि किसानले सस्तोमा धान बिक्री गरिसकेपछि धानको मूल्य निर्धारण गर्छ,’ उनले भने, ‘किसानलाई कृषितर्फ आकर्षित गर्न समयमै धानको मूल्य निर्धारण गर्नुपर्छ।’ किसानले जथाभावी बालीमा विषादी प्रयोग गर्ने गरेको बताउँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले भने,‘अन्नबालीमा विषादी प्रयोग गर्दा किसानले प्राविधिकको सहयोग लिनु आवश्यक छ।’ किसानमा खेतीपाती कसरी गर्ने भन्ने विषयमा जनचेतनाको कमी भएको उनी बताउँछन्। ‘किसानले प्राविधिकको सहयोग बिना जथाभावी तरिकाले बिउ, विषादीको प्रयोग गरिरहेका छन्,’ उनले भने,‘प्राविधिकको सहयोग अनुसार बिउ, विषादी प्रयोग गर्दा भविष्यमा समस्या देखिदैन।’
गरिमा धान लगाउने किसानलाई क्षतिपुर्ती दिलाउनका लागि जिल्ला, प्रदेश र केन्द्र स्तरमा छलफल भइरहेको ज्ञान केन्द्रका निमित्त प्रमुख भट्टले बताए। ‘गरिमा धान लगाएका किसानले क्षतिपुर्ती र बिउ बिक्री गर्नेलाई कारबाहीको माग गरेका छन्,’ उनले भने,‘यस विषयमा हामी सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ।’ भारतबाट अखाद्य वस्तु कञ्चनपुर जिल्लाका बजारमा आउने गरेको निड्स नेपाल कञ्चनपुरका निवर्तमान अध्यक्ष प्रयागराज रेग्मीले बताए। उनका अनुसार भारतबाट नुन, तेल, सोयाबिनलगायत तरकारी भित्रिने गरेको छ। ‘भारत सरकारले प्रतिबन्ध गरेका अधिकांश वस्तु नेपाल आउँछ,’ उनले भने,‘बजार अनुगमन प्रभावकारी नहुँदा मानव स्वास्थ्यमा असर परिरहेको छ।’ उनले बजार अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ‘ग्रामीण भेगका बजारमा समेत अनुगमन गर्नुपर्छ,’ उनले भने,‘अखाद्य वस्तुको बिक्री वितरण गर्नेलाई कारबाही गर्नुपर्छ।’
जिल्लामा रहेका अधिकांश मासु पसल अव्यवस्थित रुपमा सञ्चालन भइरहेको जिल्ला खाद्य अधिकार संजाल कञ्चनपुरका संयोजक कोमलनिरञ्जन भाटले बताए। उनका अनुसार जिल्लामा सञ्चालित मासु पसलबाट अखाद्य मासु बिक्री वितरण भइरहेको छ। ‘उपभोक्तालाई सचेत र अखाद्य मासु बिक्री गर्ने पसल सञ्चालकलाई कारबाही गर्नुपर्छ,’ उनले भने। भारतबाट आउने तरकारीको विषादी परीक्षण गरेर मात्र आयात भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिलकुमार वैद्यले बताए।
सरकारले तरकारी परीक्षण अनिवार्य गरेदेखि भारतबाट कञ्चनपुर भित्रिने तरकारीको विषादी परीक्षण भइरहेको तथा जंगली जनावरले ऐलानी जग्गा लगाएको खेतीको नोक्सानी गर्दा किसानलाई क्षतिपुर्ती दिनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी वैद्य बताउँछन्। ‘यसका लागि जिल्लाको सर्वदलीय बैठकबाट निर्णय गरेर केन्द्रमा पठाएका छौं,’ उनले भने,‘सरकारले क्षतिपुर्ती दिने व्यवस्था गर्छ होला।’ जिल्लाका बजारमा नियमित रुपमा अनुगमन गरिने उनले बताए। ‘स्थानीय तहले आफ्नो पालिकामा रहेका बजारमा अनुगमन गर्नुपर्छ,’ उनले भने,‘जथाभावी रुपमा अखाद्य वस्तु बिक्री गर्नेलाई कारबाही गर्नुपर्छ।’ कञ्चनपुरका किसानले समयमै बिउ, मल, तेल नपाउने गरेको बताउँदै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तमाङ्ग भन्छन्,‘यो समस्या समाधानका लागि प्रदेश र केन्द्र सरकारले चासो दिनुपर्छ।’





