जापानको हागिबिस आँधीः मृत्यु हुनेको संख्या ७० पुग्यो

टोकियो– जापानको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ।

जापानको सरकारी अधिकारीका अनुसार १५ जना बेपत्ता रहेका छन् भने २११ जना घाइते भएका छन्।

खोजी र उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। आइतबारदेखि जापान सरकारले एक लाख भन्दा बढी उद्धारकर्मी परिचालन गरिरहेको छ।

करिब १ लाख ३८ हजार घरमा खानेपानीको अभाव भएको र २४ हजार घरधुरीमा विद्युत अबरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

जापान सरकारले ७० हजार परिवारलाई आँधीको चेतावनी दिँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। तर ५० हजार परिवारले मात्रै बसाई सरेका थिए। जापानको राजधानी टोकियो लगायत अन्य राज्यहरू जलमग्न भएका छन्।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो।

ताजा समाचार

सम्बन्धित समाचार