खाेला संरक्षणले बन्याे खन्या र कामीकाटेको बगर हराभरा

महेन्द्रनगर – भीमदत्त नगरपालिकामा पर्ने खन्या खोला र कामीकाटे खोलाको दुवैतर्फ हराभरा वन छ। केही वर्ष अघिसम्म उजाड देखिने खोला किनारमा अहिले नयाँ बिरुवा उम्रिने क्रम बढेको छ। स्थानीयको संरक्षण र खोलाको दुवैतर्फ तटबन्ध निर्माणले यो क्षेत्र संरक्षणको नमुना बन्दै गएको छ। स्थानीयले चरी चरन निषेध र वृक्षरोपण गरेपछि सामुदायिक वनसँगै जोडिएको खोला किनार पनि संरक्षण भएको छ।

खोलाले काटेर बगर बनेको जमिनमा अहिले सिसम र खयरका बिरुवा उम्रेर वन बनेको छ। ‘चार वर्षअघिसम्म कामीकाटे खोलामा आउने बाढीका कारण वर्षायाममा दर्जनौं परिवार विस्थापित हुन्थे,’ स्थानीय किसन साउँदले भने, ‘नदी कटान नियन्त्रणका लागि दुवैतर्फ तटबन्ध बनाएपछि जोखिम कम हुनुका साथै बगर क्षेत्र हराभरा भएको छ।’ तटबन्ध बनाएपछि स्थानीयमा बगर संरक्षण गर्ने चेतना बढेको स्थानीय मानबहादुर नाथले बताए।

उनका अनुसार सामुदायिक वनका पदाधिकारी र उपभोक्ताले तटबन्धको दुवैतिर सिसौ, खयर, अम्रिसो, बाँस र अन्य विभिन्न प्रजातिका बिरुवा रोपेका छन्। कामीकाटे र खन्या खोलाको दुवैतिर बगर बनेको क्षेत्रमा पनि चरिचरन तथा घाँस दाउरा संकलन निषेध गरिएको छ। जसका कारण केही वर्षअघिको बगर हराभरा वन बनेको छ। खोलाको बीच भागमा समेत विभिन्न किसिमका बिरुवाहरू उम्रिन थालेका छन्। सामुदायिक वनले संरक्षण अभियान चलाएपछि उजाड देखिने खोला बगर हराभरा भएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए। उनका अनुसार सामुदायिक वनले अहिले पनि बगरमा वृक्षरोपण र संरक्षणमा जोड दिएका छन् । ‘केही वर्षअघिसम्म खन्या खोला र कामीकाटे खोलाको कटानीका कारण वन क्षेत्र उच्च जोखिममा थियो,’ उनले भने,‘सामुदायिक वनका पदाधिकारी र उपभोक्ता संरक्षणमा तल्लीन भएपछि कटानीको जोखिम हटेको छ।’ सामुदायिक वनभित्र घांँस–दाउरा संकलन पूर्ण रूपमा बन्द गरी चरिचरन पनि निषेध गरिएको उनको भनाई छ।

बगर संरक्षणका लागि डिभिजन वन कार्यालयले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको सूचना अधिकारी अवस्थीले बताए। उनका अनुसार वन कार्यालयले वृक्षरोपणका लागि बिरुवा, जोखिमयुक्त क्षेत्रमा तारत्रार र प्राविधिक सहयोग गरेको छ । ‘चुरे फेदी बगर संरक्षणको एउटा नमुना बनेको छ,’ उनले भने,‘चुरे क्षेत्रको नजिक बसोबास गर्दै आएका स्थानीय आफूसँगै वन क्षेत्रलाई पनि जोगाएका छन् ।’ यसैगरी जिल्लाकै उत्कृष्ट सामुदायिक वनका रुपमा चिनिएको शुक्लाफाँटा नगरपालिका–८मा रहेको बैजनाथ सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरूले पनि बगर संरक्षणलाई प्राथमिकता दिएका छन्। सामुदायिक वनले २०७३ सालमा चरी चरन निषेध गरेर बगर संरक्षण अभियान सुरु गरेको सामुदायिक वनका अध्यक्ष तथा शुक्लाफाँटा–८ का वडा अध्यक्ष बहादुरसिंह महराले बताए।

चुरे क्षेत्रबाट बग्ने घरकटुवा, गौडी, धारापानी, अनौखी, बनहरा र जैराम खोलाले वर्षेनी बगर तथा वन क्षेत्रमा क्षति गर्न थालेपछि संरक्षण अभियान चलाएको उनको भनाई छ। ‘तीन वर्षअघि खोलाको कटानीले बगर क्षेत्र उजाड बनेको थियो,’ उनले भने,‘ सामुदायिक वनले संरक्षण अभियान सुरु गरेको तीन वर्षमै बगर क्षेत्र घना वन बन्यो।’ बगर संरक्षणले अहिले बिरुवा उत्पादन भएर बगर हराभरा वनमा परिणत भएको अध्यक्ष महराले बताए। उनका अनुसार बगर क्षेत्रमा सिसौ, खयर लगायत अन्य प्रजातिका बिरुवा उम्रिएका छन्। ‘चरिचरन तथा चोरी तस्करी नियन्त्रणका लागि हेरालु पनि राखेका छौं,’ उनले भने, ‘अबको २/३ वर्षमा पूरै बगरलाई हराभरा वन बनाउने हाम्रो लक्ष्य छ।’

ताजा समाचार

सम्बन्धित समाचार