दुल्लु (दैलेख)– दैलेखको दुल्लु नगरपालिका आफैंमा प्राकृतिक सौन्दर्य, पौराणिक धरोहर अनि सांस्कृतिक सम्पदाले धनी छ । दैलेखको पश्चिमी डाँडामा छरिएको दुल्लु सौन्दर्यतालाई बिर्सने गरी पानीको ‘काकाकुल’ को नियति भोगिरहेको छ ।
नेपाल वातावरण पत्रकार समूहले केही दिन अघि यहाँ आयोजना गरेको ‘पानी छलफल’ मा सहभागीले यस्तै गुनासो गरे ।
‘जहाँ पानीका मुहानै छैनन्, त्यहाँ मुहान संरक्षणको कार्यक्रम ?,’ छलफल पूर्वतयारीका क्रममा दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पश्न मात्र गरेनन् ‘कार्यक्रम भन्दा आयोजनामा लगानी गरौँ र कतै मुहान खोजेर त्यसको संरक्षण गरौँ ।’ भनेर सुझाव समेत दिए ।
पिउने पानीको समस्या भोगिरहेका दुल्लुबासीका ‘कथा घण्टौँसम्म उनले सुनाइरहे । दुल्लुबासी अहिले पिउने पानीका लागि घण्टौंँ हिँड्छन् । मोटरसाइकल, अटो रिक्सा पानीका गाग्री अनि ग्यालिनले भरिएका देखिन्छन् । बजारका कहीँ कतै अलिअलि पानी चुहिने ढुंगे धारामा मान्छेभन्दा धेरै गाग्री, घैँटा र ग्यालिनको लाम हुन्छ । अहिले मात्रै होइन, दुल्लुबासीले यो नियती भोग्न थालेको वर्षाैँ बितिसक्यो ।
‘पहिला पहिला त दुईवटै धारामा ठूलै पानी आउँथ्यो, एक मिनेटमा गाग्री भरिन्थ्यो अहिले त यी थोपा–थोपा चुहिन्छ, त्यो पनि एउटै धाराबाट,’ दुल्लु नगरपालिका ७ दुल्लु बजारकी शान्ति शाह दुखेसो पोख्छिन् ।
उनका अनुसार पहिले धारामा लगातार पानी आउँथ्यो । तर, जब पानीको मुल रहेको सिरानीबाटै बाटो बनाइयो । त्यसपछि पानी सुक्न थालेको शाहको अनुभव छ ।
जिल्लामा निर्माण हुने सडक मात्र होइन अन्य विकास निर्माणको पनि वातावरणीय प्रभाव मूल्यांकन हुँदैन । पानीका स्रोत हुन वा अन्य प्राकृतिक स्रोत मासेर नै धमाधम विकास निर्माणको काम भइरहेको छ ।
शान्तिको दुखेसो सुन्दै मेयर भण्डारीले भनेका थिए, ‘भर्खरै नगरपालिकाले वातावरण संरक्षणका नीति, योजना बनाउँदैछ, हामीसँग प्राविधिक पनि कम नै छन्, अब आगामी दिनमा पानीका मुहान ख्याल गर्छाैं।’
मध्य कर्णाली जलाधार क्षेत्रमा समेटिएको दुल्लु नगरपालिको दक्षिणतिरको लेकको टुप्पामा एउटा सानो पानीको मुहान छ । त्यहीँ मुहानबाट स–सना पाइप बिछ्याएर त्यही मुहानबाट बजारका नेपाल प्रहरी, नेपाली सेना अनि केही सरकारी कार्यालयका ‘निवास’ मा सीमित पिउने पानी छ ।
इलाका प्रहरी चौकी दुल्लुका इन्चार्ज श्याम अर्यालले त्यो मुहानलाई व्यवस्थित गर्न सक्ने करिब एक सय घरपरिवारलाई पिउने पानी पु¥याउन सकिने बताउँछन् ।
मेयर भण्डारी नगरपालिकाभित्र रहेका सम्भावित पानीका मुहान खोजी गरिने र त्यसको संरक्षण प्रवद्र्धनमा ध्यान दिनेगरी नीति तथा योजना बनाउने प्रतिवद्धता जनाए । अब नगरपालिका क्षेत्रभित्र नयाँ घर तथा भवन निर्माण गर्दा रिजर्व ट्याङ्कीबिनाक नक्सा पास नगरिने नियम लागू गरिएको उनले बताए ।
अहिले दुल्लु नगर क्षेत्रभित्र पानीका मुहान सुक्दै जान थालेपछि खानेपानीको हाहाकार हुन थालको छ।
पानी छलफल कार्यक्रममा दुल्लुका स्थानीयले आफ्ना पीडा पोखेका थिए । ५ वर्षअघिसम्म पानीका मुहानमा स्थानीयले सहज पाउने गरेकोमा अहिले दुई दिनसम्म पनि पानी भर्न पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीय सीता वादीले बताइन् । यूएसए आइडीको सहयोगमा भएको कार्यक्रममा पानीका मुहान संरक्षणका लागि ‘पानी’ छलफल भएको थियो ।
वातारणीय अध्ययन नभई योजना स्वीकृत नगरिने र हरेक योजनामा अनिवार्य रुपमा मुहान संरक्षणमा जोड दिने पनि प्रतिवद्धता जनाइएको छ । नगरपालिकाका मेयर भण्डारीले १२ सय योजनामा ४ सय योजना मुहान संरक्षणका लागि रहेको बताए ।
नगरपालिकामा खानेपानीको हाहाकार रहेकाले सहज खानेपानी आपूर्ति गर्न र मुहान संरक्षणमा लाग्ने प्रमुख ध्यान हुने भण्डारीले बताए ।
कार्यक्रममा जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठ, खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख विकास काफ्ले, सिंचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख मेघराज ज्ञवाली, दुल्लु नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत शमशेरबहादुर शाही, उद्योग बाणिज्य संघका महासचिव राजेशकुमार हमाल, एसआइपीका जिल्ला संयोजक महेश ढुंगाना, वन उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारी, खानेपानीको समस्या भोगिरहेका स्थानीय समुदायलगायतको सहभागिता थियो ।
कार्यक्रममा नेपाल वातावरण पत्रकार समूह अन्तर्गत पानी परियोजनाका जिल्ला कोर्डिनेटर गोविन्द केसीले स्थानीय तथा जनप्रतिनिधिमार्फत् कार्यान्वयन हुने प्रतिवद्धता पढेर सुनाएका थिए ।
यी हुन् दुल्लु पानी छलफलका प्रतिवद्धता
–वृक्षरोपण गर्ने परिवारलाई नगरपालिकाले पुरस्कृत गर्दै अन्य समुदायलाई पनि वृक्षरोपणका लागि प्रोत्साहित गर्ने ।
–वाटर रिचार्ज, पानीको पुनः प्रयोगजस्ता विधि अपनाउने र बनजंगल र तालतलैया निर्माण र संरक्षणमा लागि पर्ने ।
–मुहान नजिक तथा सिमसार नजिकबाट सडक निर्माणलाई रोक लगाउने ।
–आइए र इआइए नगरेर विकास निर्माणका काम अघि नबढाउने
–पानीका मुहान सिरानमा अनियन्त्रित बस्ती विस्तार रोक्ने
–भएका मुहान संरक्षण तथा थप मुहान खोजीका लागि दीर्घकालिन योजना तर्जुमा गर्नुपर्ने
–पानीको बहुउपयोगितालाई ध्यानमा राखेर काम गर्ने
–पानी, जमीन र जंगल संरक्षणका लागि छलफलको सुरुवात गर्ने