टोकियो– जापानको हागिबिस नाम दिइएको शक्तिशाली आँधीमा फसेकाहरूको खोज र उद्धारका लागि १ लाख १० हजार उद्धारकर्मी परिचालन गरिएको छ।
प्रहरी, अग्नि नियन्त्रक, सेनालगायत अन्य सरकारी अधिकारी गरि १ लाख १० हजार उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको हो। उनीहरू बाढी र पहिरोमा फसेकाहरूको उद्धारमा जुटेका छन्।
अहिलेसम्म आँधीमा परी ३७ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरु डुबानमा परेका छन्। करिब ९२ हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ भने १ लाख २० हजार घरधुरीमा खानेपानीको अभाव रहेको बीबीसीले जनाएको छ।
जापान सरकारले ७० हजार परिवारलाई आँधीको चेतावनी दिँदै सुरक्षित स्थानमा सर्न आग्रह गरेको थियो। तर ५० हजार परिवारले मात्रै बसाई सरेका थिए।
जापानको राजधानी टोकियो लगायत अन्य राज्यहरू जलमग्न भएका छन्। गत महिना मात्रै आँधीका कारण ३० हजार घरमा क्षती पुगरेको थियो, जसमध्य अधिकांश घरको निर्माण भएको छैन।
आइतबार देशका ८ सय भन्दा बढी उडान रद्द गरिएको थियो भने रेल सेवा बन्द गरिएको छ।
हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो । यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो।





