क्यालिफोर्निया– अमेरिकाको क्यालिफोर्नियामा जनावरको रौंबाट बस्तु उत्पादन गर्न र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।
जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने क्यालिफोर्निया पहिलो अमेरिकी राज्य हो।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले शुक्रबार सो घोषणा गरेका हुन्। सरकारले घोषणा गरेसँगै क्यालिफोर्निया राज्यमा आउँदो सन् २०२३ जनाबरी १ बाट सो कानून लागू हुनेछ। जनावरको रौंबाट बन्ने सामान बेच्न वा कपडा, जुत्ता वा ह्यान्डब्यागसमेत बनाउन पाइने छैन।
गभर्नर न्युसमले सर्कस सोमा अधिकांश जनावर प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकमा पनि हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले जनाएको छ।
सरकारी प्रतिबन्ध उल्लंघन गरेको पाइएमा पाँच सय डलर जरिवाना गरिने र फेरि दोहो¥याएमा एक हजार डलर जरिवाना गरिने बताइएको छ।
जानवरको अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था पिटाले जनावरको रौंबाट निर्मित बस्तुको उत्पादन र बिक्री वितरणमा रोक लगाउने सरकारी निर्णयको प्रशंसा गरेको छ। उनीहरू लामो समयदेखि जनावरको रौंबाट सामान उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै आइरहेका थिए।





