बाँके- धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि बाँकेका किसान चिन्तित बनेका छन्। धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन्। बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ।
ज्ञान केन्द्रका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा तथा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १९ मा फौजी किराले धान काटेर नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । बाँकेसँगै बर्दियाका केही स्थानमा पनि फौजी किराको प्रकोप फैलिन थालेको ज्ञान केन्द्रले जनाएको छ।
फौजी किराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन् । फौजी किरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको ज्ञान केन्द्रले जनाएको छ । हाललाई केन्द्रसँग भएको रु ५० हजार बजेटलाई बाँकेको लागि ३० हजारको विषादी खरीद गरी प्रभावित क्षेत्रमा छर्कन पठाइसकिएको र बाँकी रकम बर्दिया क्षेत्रमा नियन्त्रणका लागि खर्च गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
पाकिसकेका धानको बाला फौजी किराले काटेर भूइँमा खसाउँदा क्षति पुगेको छ। डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले भने, ‘प्रकोप नियन्त्रणका लागि स्थानीय तहबाट पनि किसानहरुलाई विषादी सहयोग गरिरहेका छौँ। किराको प्रकोप उच्च देखिएको छ। अहिलेसम्म नियन्त्रण हुन सकिरहेको छैन। कतिपय किसानले धान काटेरै फालेका छन्। हामीले किरा नियन्त्रणका लागि सबै विकल्प प्रयोग गरिरहेका छौँ।’
डुडुवा गाउँपालिका–३ का रामदिन यादवले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताए। यस वर्ष लगाएको धान बालीमा ठूलो क्षति पुगेको उनले बताए। ‘औषधि छर्दा पनि किरा मरेका छैनन्। धानको बाला जति भुइँमा झरेको छ’, उनले भने, ‘दिउँसो हेर्दा धान ठीकै हुन्छ। रातभरिमा धानको बाला जति भुइँमा झरिसकेको हुन्छ।’
फौजी किरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा आक्रमण गर्छ। फौजी शैलीमा किराले धानको बालामा आक्रमण गर्ने भएका कारण कृषिविज्ञ ‘आर्मी वर्म’ नाम दिएका हुन्। नेपालीमा फौजी किरा भन्ने गरिएको हो। किराले खानेभन्दा बढी काट्ने हुँदा खेतैभरि धान खसेको देखिन्छ। किसानहरुले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन्।
धानखेतीमा पाँच दिनदेखि फौजी किराले नोक्सान गर्दै आएको हो। शुरुमा थोरै धान खेतीमा देखापरेको किरा पाँच दिनमै फैलिएर ३०० बढी हेक्टर जमीनमा लगाएको धानखेतीमा नोक्सान पु¥याइसकेको स्थानीय किसानको गुनासो छ। डुडुवा–६ कालाबन्जरका किसान रतिराम कुम्हारले ४० कट्ठा जमीनमा लगाएको राधा–४ धान फौजी किराले काटेर नोक्सान पु¥याएको बताए।
उनले भने, ‘यस वर्ष धान निकै राम्रो भएको थियो, एक कट्ठामा साढे दुई क्विन्टल धान फल्ने अनुमान गरेको थिए, तर काट्ने बेलाको धान फौजी किराले सखाप पारेपछि उत्पादन शुन्य हुने भयो।’ अर्का किसान अफिद अलीले पनि ४० कट्ठा जमीनमा लगाएको धान नष्ट भएको बताए । उनले एक कट्ठामा लगाएको धानखेतीबाट पाँच किलो धान घरमा भित्रिने अवस्था नरहेको गुनासो गरे ।
फौजी किराले अत्यन्तै छिटो नोक्सान पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए। उनले फौजी किरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विषादी वितरणसँगै किसानलाई रोकथामका उपायबारे जानकारी दिइरहेको बताए।
फौजी किरा मार्न एनपिभी नामक भाइरस आवश्यक पर्छ। भाइरस उत्पादनका लागि त्यही किरा पाल्नुपर्ने र भाइरस सारेर किरा मारेर पोट्रिन उत्पादन गर्नुपर्ने कृषि विज्ञको भनाइ छ। फौजी किराको सङ्क्रमण देखिएपछि कृषि प्राविधिकले किसानलाई इमिडा क्लोप्रिट नामक विषादी छर्ने सुझाव दिएका छन्। पानीमा उक्त विषादी मिसाएर छरे फौजी किराको प्रकोप नियन्त्रणमा आउने उनीहरुको सुझाव छ। काशीराम शर्मा/रासस





