भक्तपुर– सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आइतबारदेखि भक्तपुरमा शुरु भएको छ। दिवसको पहिलो दिन आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखाको व्यवस्थापनमा ¥यालीे आयोजना गरिएको थियो ।
विपद्बाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्यले आज पहिलो दिन भक्तपुरको तौमढीबाट शुरु भएको ¥याली सुकुलढोका, दत्तात्रय हुँदै कमलविनायकमा पुगेर सभामा परिणत भएको थियो । सभामा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा विपद्को जोखिममा रहेकाले चारवटै नगरपालिकाले विपद् न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत २७ गते सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापनबारे कृतिम अभ्यास गर्ने, २८ गते चाँगुनारायण नगरपालिका र जिल्ला रेडक्रसले विपद् व्यवस्थापनबारे क्षमता विकास तालीम र अन्तरक्रिया गर्ने, २९ गते सूर्यविनायक नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले विपद् व्यवस्थापनबारे प्रचारप्रसारका सामग्री निर्माण गर्ने, प्रदर्शनी गर्ने, भिडियो संवाद र जिङ्गल निर्माण गर्ने भएको छ । त्यस्तै ३० गते चाँगुनारायण, १ गते मध्यपुरथिमि र २ गते भक्तपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया गर्ने भएको छ ।





