क्यालिफोर्निया– अमेरिकाको क्यालिफोर्नियामा फैलिएको डढेलोका कारण २ जनाको मृत्यु भएको छ भने १ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
केही अग्निनियन्त्रकहरू समेत घाइते भएका छन् । आगलागीका कारण अन्य मानवीय क्षतिको विवरण प्राप्त नभइसकेको बताइएको छ ।
फैलिएको ठूलो डढेलो नियन्त्रणका लागि आग्नि नियन्त्रकहरू निरन्तर लागि परेका छन्। डढेलो नियन्त्रणका लागि १ हजार अग्निनियन्त्रक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । हेलिकप्टरको सहायताले डढेलो नियन्त्रणको प्रयास भइरहेको छ । अधिकारीहरूले डढेलो नियन्त्रणमा लिन केही दिन लाग्ने जनाएका छन्।

सान फर्नान्डो क्षेत्रवरपरका १३ हजार घरका मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ। अधिकारीहरूले डढेलो फैलिएको क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका छन् । कम्तीमा २० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ।
राज्यको दक्षिणी भेगमा फैलिएको डढेलो शनिबारसम्म डढेलो ७ हजार ५ सय एकड क्षेत्रमा फैलिइसकेको बताइएको छ । डढेलोबाट कम्तीमा ३१ संरचनाहरू ध्वस्त भएका छन्।
डढेलो अनियन्त्रित भएसँगै राजमार्गहरू बन्द गरिएको छ भने लस एन्जलस क्षेत्रका ४० विद्यालय लगायत क्यालिफोर्नियाका अन्य विश्वविद्यालय बन्द गरिएकोे छ ।





