Sunday, September 22, 2024

सरकारले सर्जु–५२ धानको सिफारिस गरेपछि कृषक खुशी

धनगढी—सर्जु–५२ जातको उन्नत धान लगाउन सरकारले सिफारिस गरेसँगै कैलाली जिल्लाका किसान खुशी भएका छन् । वर्षौँअघिदेखि यो जातको धानखेतीतर्फ जिल्लाका किसानको आकर्षण बढ्दै गएको अवस्थामा सरकारले सिफारिस गरेको हो ।

सरकारले सर्जु–५२ जातको धानखेती लगाउन सिफारिस गर्दा राहत मिलेको स्थानीय किसान रामकुमार रानाले बताए। खेती गर्दा रोग किराको समस्या देखिएमा स्वयं किसान, बीउ उत्पादक र बिक्रेताले व्यहोर्नुपर्ने सर्तमा कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय बीउबिजन कम्पनीले सर्जु–५२ जातको धानखेती गर्न सिफारिस गरेको नेपाल बीउ व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकान्त ढकालले राससलाई बताए।

कैलालीको ७० प्रतिशत र कञ्चनपुरको ५० प्रतिशत जग्गामा यो धानखेती किसानले गर्दै आएका छन् । “किसानको जोडबलमा कम्पनीले यो धानखेती गर्न सिफारिस गरेको हो”, ढकालले भने, “सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा सर्जु–५२, मध्यतराईमा सावाँ मन्सुली र पूर्वको झापा, मोरङमा रञ्जीत मन्सुली जातको धानखेती गर्न सिफारिस गरिएको छ।”

कम वा बढी पानी भए पनि राम्रो उत्पादन दिने मध्यम मोटो सर्जु–५२ धानलाई कैलाली र कञ्चनपुरमा लाटो धानका रूपमा समेत चिन्ने गरिन्छ । यो धानको भण्डारण गर्दा रोग किराको समस्या नहुने, पराल बस्तुभाउले पनि पराएर खाने, पोटिलो दाना लाग्ने भई उत्पादन पनि अन्य जातको तुलनामा राम्रो हुने कृषकको भनाइ छ ।

“अन्य जातका धानको तुलनामा सर्जु धानको उत्पादन बढी हुने भएकाले यो धानखेतीमा वर्षौँदेखि कृषकको आकर्षण बढेको हो”, स्थानीय कृषक रानाले बताए । रोग किराको समस्या देखिने गरेका कारण यो धानको खेती गर्न विगतमा सरकारले सिफारिस नगरेको कृषि प्राविधिकको भनाइ छ ।

विगतमा सिफारिस नभए पनि सरकारसँगको सहमतिमा निजी क्षेत्रका बीउ उत्पादक कम्पनीले यो धानको बीउ उत्पादन गरी बिक्री वितरण गर्दै आएका थिए ।

यसैबीच कृषि निर्देशनालय दीपायलको टोलीले कैलाली र कञ्चनपुर जिल्लामा गरिएको सिन्दुरी र गरिमा जातको धानमा बाला लाग्न नसकेको समस्याका विषयमा स्थलगत निरीक्षण अध्ययन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा रहेको कृषि प्राविधिकको टोलीले कैलाली र कञ्चनपुर जिल्लामा खेती गरिएको हाइब्रिड (वर्णशङ्कर) जातको सिन्दुरी र गरिमा धानबालीको स्थलगत अध्ययन निरीक्षण गरेको हो ।

“कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न ठाउँमा गरिएको गरिमा र सिन्दुरी जातको धानमा बाला लाग्न नसकेको कृषकको गुनासोका विषयमा अध्ययन गरेका छौँ”, निर्देशक जोशीले भने, “आगामी केही दिनमा यस विषयमा प्रतिवेदन तयार गरी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेश गर्दैछौँ ।” रासस

ताजा समाचार

सम्बन्धित समाचार