Sunday, September 22, 2024

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः यस्ता छन् एजेण्डा

काठमाडौँ— चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको प्रमुख एजेण्डा ‘कनेक्टीभिटी’ बन्ने भएको छ।

File Photo

सी दुई दिने राजकिय भ्रमणका लागि आगामी शनिबार नेपाल आउने कार्यक्रम छ। भारत—चीबीचको दोस्रो अनौपचारिक उच्चस्तरीय वार्तामा सहभागी उनी भारतको चेन्नईबाट काठमाडौँ आउने छन्। सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चेन्नईमा दोस्रो अनौपचारिक वार्ता हुने छ, सो वार्ताको पहिलो संस्करण सन् २०१८ मा चीनको उहान प्रान्तमा भएको थियो।
सरकारी अधिकारीहरूका अनुसार रेल तथा सडकका माध्यमले चीनसँगको कनेक्टीभिटी बढाउने परियोजना उच्च प्राथमिकतामा छन्।

पहिलो, भ्रमणको समयमा काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी हुनसक्ने सम्भावना छ। यस अगाडि चिनियाँ पक्षले उसकै एकल खर्चमा पूर्व सम्भाव्यता अध्ययन गरेको थियो। सो अध्ययनले सो रेलमार्ग निर्माण कार्य निकै कठिन भएको तर असम्भव भने नभएको निष्कर्ष निकालेको थियो । रेलवेको विषयलाई नेपाली पक्षले निकै जोडतोडका साथ उठाइरहेको छ।

दोस्राे एजेण्डा चीनसँगको सडकमार्ग सुधार रहेको छ। विशेषत काठमाडौँदेखि तातोपानी र काठमाडौँ– रुसुवागढी सडक सुधार प्राथमिकता रहेको छ। यस बाहेक अन्य झण्डै आधा दर्जन नाका रहेको स्थानमा सडक निर्माण गर्ने विषयमा पनि छलफल हुने सरकारी अधिकारीहरूको भनाइ छ । विशेषत चीनसँग सिमाना जोडिएका जिल्लामा पूर्वाधारको विकास एकदमै कम भएका कारण कनेक्टीभिटीले अपेक्षाकृत गति लिन सकेको छैन।

तेस्राे, एजेण्डाको रुपमा नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्ने विषय पनि रहेको छ। सन् २०१६ मा नेपाल र चीबीचमा पारवहन तथा यातायात सम्झौता भएको थियो । त्यसको झण्डै ३ वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको क्रममा त्यसको प्रोटोकलमा हस्ताक्षर भएको थियो। अब नेपालले चीनको बन्दरगाह र सडकको प्रयोग कसरी गर्नसक्छ भन्ने व्यवहारिक विषयमा भ्रमणको समयमा छलफल हुनेछ। तेस्रो मुलुकसँगको आयात र निर्यातमा नेपाल अहिलेसम्म भारतका केही वन्दरगाहमा निर्भर छ। भारतसँगको एकल निर्भरता तोड्न भन्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा सन् २०१६ मा चीनसँगको ऐतिहासिक सम्झौता गरेका थिए।

चौथो, अन्य विभिन्न द्वीपक्षीय परियोजनाहरुको विषयमा समेत छलफल हुन थालेको छ। झण्डै २३ वर्षको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणको समयमा कुनै ‘सरप्राइज गिफ्ट’ प्रोजेक्टको घोषणा समेत हुनसक्ने सरकारी अधिकारीको भनाइ छ। यस अगाडि सन् १९९६ मा ज्याङ जमिन नेपालको औपचारिक भ्रमणमा आएका थिए। त्यसपछाडीका राष्ट्रपति हु जिन्ताओ नेपाल भ्रमणमा आएनन्।

नेपालमा सञ्चालन हुने कनेक्टीभिटी परियोजनालाई अब वेल्ट एण्ड रोड इनिसियटिभको फ्रेमवर्क भित्र अगाडि बढाउने चीनको योजना देखिन्छ। नेपालले सन् २०१७ मा नै बिआरआईमा सहभागी हुने सम्झौता गरेपनि अहिलेसम्म एउटा पनि परियोजना अगाीि सारिएको छैन।

पाँचौ, नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने सम्बन्धमा पनि भ्रमणको समयमा छलफल हुनेछ। नेपालले चीनलाई आर्थिक लगानी मात्र होइन, प्रविधि हस्तान्तरणका लागि पनि आग्रह गरिरहेको छ। उता चीनले भने नेपालमा लगानीका लागि विभिन्न जटिलता रहेको भन्दै त्यसलाई हटाउन आग्रह गरिरहेको छ।

यस बाहेक नेपालको चीनसँगको बढ्दो व्यापार घाटा, चीनको नेपालमा सुरक्षा चासो, नेपाली सेनालाई सहयोग, सुपुर्दगी सन्धि लगायतका विषयहरुमा पनि भ्रमणको अवधिमा छलफल हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार