महेन्द्रनगर- बहुऔषधिका रूपमा प्रयोग हुने लोपोन्मुख प्रजातीको विजयसाल । यो प्रजाति एक दशकअघि मात्र कञ्चनपुर क्षेत्रबाट लोपोन्मुख अवस्थामा पुगेको थियो।अहिले जिल्लाका १२ सामुदायिक वनले संरक्षण सञ्जाल नै बनाएर विजयसाल संरक्षण गरिरहेका छन्।
‘उपभोक्ताहरुले लोपोन्मुख तथा दूर्लभ विजयसाल संरक्षणलाई प्राथमिकता दिएका छन्,’ सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्त भन्छन्,‘संरक्षणमा डिभिजन वन कार्यालय कञ्चनपुरलगायत विभिन्न संघसस्थाले पनि सहयोग गरेका छन्। पछिल्लो पटक लोपोन्मुख अवस्थामा पुगेपछि २०६४ संरक्षणको प्रयास गरिएको हो। अहिले २ दर्जन बढी सामुदायिक वनमा विजयसाल पाइन्छ । जिल्लाका सामुदायिक वनहरुले नाश विजयसाल संरक्षणमा जोड दिएका छन्।
सामुदायिक वनले विजयसाल संरक्षण, पुनः उत्पादन, प्रचारप्रसार र विस्तारलाई प्राथमिकतामा राखेको पन्त बताउँछन्। सामुदायिक वनले विजयसाल पाइने सामुदायिक वनमा खुल्ला चरिचरन निषेधित क्षेत्र घोषणा गरेका छन् भने वृक्षरोपण समेत थालेका छन्। साथै, सामुदायिक वनले विजयसाल संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम पनि गरिरहेका छन्।
ग्वालावारी र जनहित महाकाली सामुदायिक वनले विजयसालका बिरुवा उत्पादन समेत गर्ने गरेको छ । ‘नर्सरी निर्माण गरेर प्रत्येक वर्ष विजयससालको विरुवा उत्पादन गर्छौं,’ ग्वालावारी सामुदायिक वनका अध्यक्ष शेरबहादुर सिंहले भने,‘प्रत्येक वर्ष ५÷६ हजार विरुवा उत्पादन गरेर वितरण गर्छौं।’ ग्वालावारी सामुदायिक वनले विजयसालको बिरुवा बिक्री गरेर उपभोक्ताको आयआर्जन समेत बढाएको उनको भनाइ छ । यहाँ उत्पादन गरिएको बिरुवा कञ्चनपुरसहित कैलाली, बर्दिया, बाँके र दाङसम्म पुग्ने गरेको छ।
विजयसाल संरक्षणले विज्ञानका अध्ययनकर्ता, पर्यटक र विजयसाल व्यवसायीलाई वनतर्फ आकर्षित गरेको छ। वन विज्ञान पढ्ने विद्यार्थी पनि यसको अध्ययन तथा अवलोकन गर्न पुग्छन् ।
पुर्नवास नगरपालिकाको भीम सामुदायिक वनमा एक पटक विजयसाल लोप हुने अवस्थामा पुगेको थियो । सामुदायिक वन दर्ता हुनुअघि ७÷८ वटा बुढा रुख भएपनि स्थानीयले दाउरा र घासका रुपमा प्रयोग गरेपछि लोप हुने अवस्थामा पुगेको थियो । अहिले वन उपभोक्ताले संरक्षणमा जोड दिएपछि साढे ३ सय बिरुवा हुर्किरहेका छन् । वन संरक्षणपछि पुनः उत्पादन भएको भीम सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर थापा बताउँछन् ।
‘स्याउला काट्नेबाट विजयसाल जोगाउन निकै समस्या छ,’ उनले भने,‘गाउँलले चोरेर स्याउलाका लागि काट्ने गर्छन् ।’ नयाँ बिरुवा उत्पादन हुने क्रम बढेकाले विजयसालको छुट्ट बनाउने तयारी भइरहेको उनको भनाइ छ । लापोन्मुख प्रजातिमा पर्ने विजयसालको स्याउला गाईभैंसी र बाख्राले निकै मन पराउँछन् ।
शुक्लाफाँटा नगरपालिकाको बैजनाथ सामुदायिक वनले विजयसालका ३ हजार ५ सय बिरुवा संरक्षण गरिरहेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । उनले विजयसाल संरक्षणसँगै विस्तार गरिने बताए । ‘अागामी दिनमा नर्सरी बनाएर विजयसालका बिरुवा उत्पादन गछौं,’उनले भने,‘पछिल्लो समय यसको विषयमा जनचेतनामुलक कार्यक्रम गर्दा उपभोक्ता पनि संरक्षणमा लागेका छन् ।’ डिभिजन वन कार्यालय कञ्चनपुरले पनि विजयसाल संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
विजयसाल कटानी र ओसारपोसार प्रतिबन्ध गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए । उनका अनुसार विजयसालका लागि कञ्चनपुर उपयुक्त भौगोलिक धरातल हो । ‘वन कार्यालयले विजयसाल संरक्षणमा सहयोग गर्ने गरेको छ,’ उनले भने,‘नर्सरी व्यवस्थापन लगायतमा सहयोग गर्ने गरेका छौं ।’ विजयसाललाई प्राकृतिक र कृत्रिम रूपमा पुनःउत्पादन गर्न सकिने सूचना अधिकारी अवस्थी बताउँछन् । ‘विजयसाललाई आयआर्जनसँग जोड्न सकिन्छ,’ उनले भने,‘विजयसालका भाडा वैज्ञानिक महत्वका आधारमा स्वास्थ्यका लागि समेत लाभदायक भएकाले यसको संरक्षणले समुदायलाई बढी फाइदा हुन्छ ।’
‘मायाको चिनो’ विजयसाल
कञ्चनपुर जिल्लामा हुने प्रायः हरेक सभा समारोह तथा कार्यक्रममा विजयसालका भाडा ‘मायाको चिनो’का रुपमा उपहार दिने प्रचलन स्थापित भएको छ । पछिल्लो समय विजयसालका भाडा उपहारको पहिलो रोजाई बन्न थालेको छ ।
जिल्लामा दुर्लभ विजयसालबाट निर्मित अम्खरा, गिलास लगायतका भाडा उपहार दिने प्रचलन रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी बताउँछन् । ‘मायोको चिनोका रुपमा विजयसालका भाडा आदान प्रदान हुन थालेपछि यसको महत्व बढेको छ,’ उनले भने,‘अचेल बाहिरबाट यहाँ हुने कार्यक्रममा आउने बढीजसो पाहुनालाई चिनोका रुपमा विजयसालका भाडा दिइन्छ ।’
विशेष गरी पश्चिम तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलबस्तु लगायतका जिल्लामा विजयसाल पाइन्छ । समुद्र सहतदेखि १ हजार मिटरको उचाईमा चुरे श्रृंखलाको फेदमा भावर क्षेत्रमा विजयसालका रुख पाइन्छन् ।