दैलेख– दुल्लु नगरपालिका–६ की कृष्णा बुढाको रेती खोलाको सिरानमा जीवन धान्ने बारी छ। उनको बारीमा तीन वटा ठुला ठुला प्लास्टिकका घर छन्। प्लास्टिक घर भित्र अहिले टमाटर हुर्किँदै छन्। उनले दुई वटा प्लास्टिक घरमा बीउ बनाउने टमाटर लगाएकी छिन्। अर्कोमा भने तरकारीका लागि टमाटर हुर्काएकी हुन।
‘अस्ति मकैको मैले १३ हजार बुझे । अहिले मकैको बीउ, सिमी लगाउँदै छौ। आधा थाँक्रा हाल्दैछौ। गोड्दैछौ । टमाटर दुई वटा एउटा तरकारीको लागि अर्को बीउको लागि,’बुढाले भनिन्।
३८ वर्षिया कृष्णाको व्यावसायिक कर्म लोभ लाग्दो छ। उनले वि.सं. २०६८ सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन्। बाह्र दिने तरकारी उत्पादन सम्बन्धी तालिम पाएपछि उनी व्यवसायमा लागेकी हुन। उनलाई सुरुमा सुडेक नेपाल र अक्सफाम नामक गैरसरकारी संस्थाले सहयोग गरे । अनि उनी व्यवसायमा जुटिन। पहिलो प्रयासमा नै कृष्णाले राम्रो सफलता हासिल गरिन्। यसले उनलाई व्यवसायमा केही गर्ने हौसला मिल्यो।
कृष्णाले प्लास्टिक घर भित्र बीउ उत्पादनसँगै बेमौसमी तरकारी पनि फलाउँछिन्। उनले तीन वटा ब्लकमा बीउ उत्पादन गर्छिन्। एउटा ब्लकमा मकैको बीउ तयार हुँदैछ। एउटामा टमाटर र अर्को ब्लकमा सिमी हुर्किँदै छ।
अचेल उनले आधुनिक प्रविधीयुक्त प्लास्टिक घर बनाएकी छिन्। कृषि ज्ञान केन्द्र दैलेखको ४ लाख ५० हजार र व्यक्तिगत गरी कुल ६ लाख रुपैयाँको लागतमा यी घरहरू तयार पारेकी हुन। उनले प्लास्टिक घरमा लगाएको टमाटरमा थोपा सिँचाइको प्रयोग गरेकी छिन्।
‘थोपा सिँचाइ एकदम राम्रो । पानी बढी भयो भने जरा कुहिने,ओइलिने रोग लाग्छ । थोपा सिँचाइले चाहिने जति पानी दिन्छ। पानी पुगे पछि बन्द गर्दियो सकियो,’ कृष्णाले भनिन्।
बीस रोपनी जमिनमा कृष्णाले व्यावसायिक तरकारी र बीउ उत्पादन गर्छिन्। उत्पादित बीउ खरिद गर्न सिएनसिड कम्पनीसँग एक वर्षको सम्झौता गरिएको छ। बारीमा उत्पादित बीउको बजारीकरणमा कुनै समस्या छैन। उनीहरूले उत्पादन गर्ने बीउ हातेमालो बीउ प्रवर्द्धन सहकारी संस्था मार्फत बीउ कम्पनी समक्ष पुग्छ। हाल दुल्लु नगरपालिका वडा नम्बर ६, ११ र १३ का गरी १३ वटा कृषक समूह बीउ उत्पादन गर्छन्। ती समूहका झन्डै ३ सय ५० कृषकहरू बीउ उत्पादनमा सक्रिय छन्।
कृष्णा बुढा, अधिकारी कृषक समूहकी अध्यक्ष पनि हुन। उनलाई तरकारी उत्पादन कसरी गर्ने भन्ने राम्रो अनुभव छ। त्यसैले उनी कृषि कर्ममा सफल छिन्। उनी आफ्नो उत्पादनमा गोठे मल प्रयोग गर्छिन्। मलका लागि भैँसी र बाख्रा पालेकी छिन्। बालीमा लाग्ने रोग किरा नियन्त्रणको लागि जैविक विषादीको प्रयोग गर्छिन्।
‘मल हामीले गोठको प्रयोग गर्छौ। अनि भकारो छ । भकारोबाट पिसाब जम्मा गर्छौ अनि त्यसमा स्थानीय जडीबुटी हालेर हामी विषादी तयार पार्छौ । अनि त्यही बारीमा प्रयोग गर्छौ,’कृष्णाले भनिन्।
व्यावसायिक कृषि कर्मबाट राम्रो आम्दानी गर्न सफल छिन् कृष्णा। उनले तरकारी उत्पादन गरेरै ५ जनाको परिवार गज्जबले पालेकी छिन्। छोरालाई कृषि जेटिए पढाएकी छिन्। अचेल कृष्णालाई उनका छोराले पनि कृषि गतिविधिमा सघाउँछन्।
‘दुई वटा छोरा एउटी छोरी छन् । तिनलाई पढाई खर्च यहाँबाटै हुन्छ। तीन लाख पचास हजार ठुला बाबुलाई लाग्यो। कान्छो छोरा सुर्खेतमा पढ्छ । कान्छी छोरी पढ्दै छे। अनि आफूलाई घर खर्च, बचत गर्ने सबै तरकारीबाट हो,’उनले भनिन्।
कृष्णा आफ्नै देशमा मिहनेत गरे पैसा कमाउन विदेश धाउनु नपर्ने बताउँछिन्। कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात कम गराउने सोचमा छिन्। उनी छिमेकी देश भारतबाट आयात हुने विषादीजन्य तरकारी भित्र्याउन नहुने पक्षमा छिन्। त्यसैले उनी स्वस्थकर कृषि उत्पादनलाई नै जोड दिन्छिन ।
‘मान्छे नेपालमा केही रोजगार छैन भनेर बाहिर जान्छन् । मेरो बिचारमा आफ्नै देशमा तरकारी फलाएर भारतबाट आउने तरकारी पनि नआइदिएको भए भन्ने छ,’उनले भनिन्।
नेपालका धेरैजसो ग्रामीण महिलाहरू आर्थिक अभावमा अनेक समस्या झेल्न बाध्य छन्। तर, कतिपय महिलाहरू भने व्यावसायिक कर्मले उदाहरणीय बनेका छन्। उनीहरू अरूका लागि पनि प्रेरणाका स्रोत बनेका छन्।