Sunday, September 22, 2024

ढोरपाटन: वन्यजन्तुको शिकारमा रुची किन घट्यो?

काठमाडौँ–राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले ढोरपाटन शिकार आरक्षमा यस याममा शिकारका लागि १६ वन्यजन्तुको कोटा छुट्याउँदै दरभाउपत्र आह्वान ग-यो, गत महिना।

शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट दरभाउपत्र आह्वान गरिए पनि माग कम आयो र अब ७ नाउर र ५ झारल गरी १२ वटा वन्यजन्तुको मात्र शिकार गरिने छ।

आरक्षका व्यवस्थापन शाखाका सहायक व्यवस्थापक अधिकृत सन्तोष भगत यस याममा शिकारको माग कम आएको स्वीकार गर्छन्। जसको सीधा असर राजश्वमा परेको छ।

शिकार कम्पनीले एउटा नाउर शिकारको १ लाख ९० हजार राजश्व तिरेका छन्। जबकि, अघिल्लो शिकार याम (फागुन–वैशाख)मा एउटा नाउर शिकारको राजश्व १३ लाख ५१ हजार र झारल शिकारको १३ लाख ५० हजार राजश्व पुगेको थियो।

शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने हुन्छ तर माग नै घटेपछि राजश्वमा गिरावट आएको हो। गत वर्ष असोज–मंसिरमा पनि नाउर शिकारको राजश्व १२ लाख ५ हजार र झारलको ९ लाख २० हजार थियो।

विदेशी पेशेवर आउने
शिकारका लागि पेशेवर विदेशी शिकारी आउने भएका छन्। यस यामका लागि बोलपत्र प्रक्रियाबाट छानिएका शिकार कम्पनीले ती पेशेवरलाई आरक्षमा पठाउने तयारी गरेका हुन्। पहिलो शिकार टोली दुई सातापछि ढोरपाटन पुग्नेछ। शिकार आगामी मंसिरको अन्तिमसम्ममै खुला रहन्छ।

शिकार कम्पनी ट्रयाक एण्ड ट्रेल्र्स, नेपाल वाइल्ड लाइफ सफारिज, नेपाल वाइल्ड लाइफ एडभन्चर, हिमालयन अउटफिटर, हिमालयन सफारिजल र ग्लोबल सफारिजले ढोरपाटनमा शिकार खेलाउँदै आएका छन्।

ढोरपाटन विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य हो। हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने गरिन्छ। विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका शिकारी आउने गर्दछन्।

सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो। विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यको रुपमा लिने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार