भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा हरियाली मध्यपुर अभियान शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा रहेर यो अभियान शुरु भएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने क्रममा युरोपेली युनियन ९इयु०ले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा अभियान शुरु गरेको उनले जानकारी दिए । इयूले विश्वभरनै जलवायु कूटनीति सप्ताह मनाउन शुरु गरेकोमा मध्यपुरथिमिसँगको सहकार्यमा वृक्षरोपण गरेर नेपालमा यो अभियान शुरु गरेको हो ।
नेपालस्थित इयू दूतावासका भेरेनिका कोडीले बिरुवा रोपेर मध्यपुरथिमि नगरलाई हरियाली बनाउने अभियान शुरु गरेका नगरप्रमुख श्रेष्ठले जानकारी दिए । नगरप्रमुख श्रेष्ठले इयूसँगको सहकार्यमा खाली क्षेत्रमा पर्यावरण संरक्षणको कार्य शुरु भएको बताउँदै आगामी दिनमा विकास निर्माणलगायतका मानवीय कार्यमा समेत सहकार्य गरेर अघि बढ्ने बताए ।





