मनसुन दशैँसम्म कायम रहने

काठमाडौँ– जुन १० मा नेपाल प्रवेश गरेर २३ सेप्टेम्बर बाहिरिनुपर्ने मनसुन यसपालि दशैँसम्म लम्बिने भएको छ।

मनसुनी गतिविधि कायमै रहेकाले दशैँमा पनि क्षणिकदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो।

हाकाहाकीसँग कुरा गर्दै मोसम विद् शान्ति कडेँलले मनसुन सक्रिय रहेको जानकारी दिइन्। भारतको उत्तर प्रदेश आसपास नयुनचापीय प्रणाली रहेकाले नेपालमा सामान्य प्रभाव परेको उनको भनाइ छ।

दशैँको समयमा पनि मनसुन सक्रिय रहेतापनि भारी वर्षा भने नहुने बताइन्। उनले भनिन्, ‘असार/साउनको जस्तो पानी पर्दैन्।’

नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो। गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो। सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको संख्या बढिरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य क्षेत्रमा सामान्य बदली रहि १–२ स्थानहरूमा हल्का बर्षा भईरहेको छ भने अन्य स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज बिहिबार देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य तथा पूर्वका थोरै स्थानहरूमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार र शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरूमा साथै पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भूभागमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टाका देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार