बर्दिया– पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको बुधबार बेलुका मृत्यु भएको हो ।
एक साताअघि भगवती सामुदियाक वनमा घाँस काट्न गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचार भइरहेको निकुञ्जले जनाएको छ ।
मङ्गलबार दिउँसो पाटे बाघले एउटा गोरु र आठ वटा बाख्रासमेत मारेको स्थानीयले जनाएका थिए । सात महीनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणमा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ । अहिले निकुञ्जभित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानीवासी त्रसित बनेका छन् ।
बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएपछि बाघ हिंस्रक भएको हुनसक्ने भन्दै निकुञ्ज प्रशासनले क्यामरा ट्रयापिङ प्रविधिसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गर्ने बताएको छ । बाघ नियन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने बताइएको छ ।





