काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नेपालीहरुको महान् पर्व बडादशैँको अवसरमा पनि नियमितरूपमा फोहर सङ्कलन गर्ने भएको छ । केही दिनअघि सम्म हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो मर्मतको कार्य हाल नभए पनि बाटो खुला भएकाले र पहिलो पटक सिसडोल दशैँको मुख्य दिनमा पनि खुला हुने भएपछि नियमित फोहर उठ्ने भएको हो ।
दशैँको मुख्य दिन कर्मचारीलाई आलोपालो खटाएर र साँझ वा बिहानको समय मिलाएर फोहर उठाउने कामपाको योजना रहेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सङ्कलन भएको फोहरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पु¥याइनेछ ।
दशैँको अवधिमध्ये फूलपाती र अष्टमीका दिन धेरै फोहर उत्पादन हुन्छ । शहरमा उत्पादन भएको फोहर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर सङ्कलन फोहर सिसडोल ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ । विगत १३ वर्षदेखि कामपाले सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्दै आएको छ ।





