काठमाडौँ – दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या साढे ११ लाख पुगेको छ। घटस्थापनादेखि आज(बुधबार)सम्म स्थलमार्ग हुँदै साढे ११ लाख यात्रु बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रवीकुमार पौडेलले बताए।
उनका अनुसार हाल दैनिक १ लाख ९५ हजार यात्रु स्थलमार्ग हुँदै बाहिरिन्छन् । फूलपातीपछि यो संख्यामा झनै वृद्धि हुने उनको भनाइ छ। हाल नागढुंगा नाका हुँदै धेरै यात्रु बाहिरिने गरेका उनी बताउँछन्। उपत्यकाबाट बाहिरिने यात्रुमध्ये ६० प्रतिशतले नागढुंगा नाका प्रयोग गरिरहेका छन् । त्यसैगरी बिपी राजमार्गबाट २० प्रतिशत, फर्पिङ हुँदै १० प्रतिशत र अन्य नाका(टोखा,मुड्खुढोका)बाट १० प्रतिशत यात्रु दशैँका लागि बाहिरिने गरेका छन्।
दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपनि दैनिक ८८ हजार भने काठमाडौँ भित्रिरहेको ट्राफिक प्रवक्ता पौडेल बताउँछन्।
‘पछिल्लो एक हप्तामा साढे ११ लाखले काठमाडौँ छोडिसकेका छन्,’ उनले भने,‘ दैनिक झण्डै दुई लाखको हाराहारीमा यात्रुहरू बाहिरिए पनि ८८ हजार यात्रु भने काठमाडौँ आइरहेका छन्।’
मौसमी कामका लागि काठमाडौँ आएका र विद्यार्थीहरू दशैँ मनाउन घरतिर जानेक्रम शुरु भएपनि पेशा, व्यवसायका क्रममा काठमाडौं रहेकाहरू घटस्थापनादेखि फूलपातीको बेलामा छाड्ने गरेको पाइन्छ। दशैंंका लागि सुनधारा, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, गौशाला, कलंकी, माछापोखरी लगायत क्षेत्रमा रहेका यातायात व्यावसायीका टिकट काउन्टरबाट सर्वसाधारणले टिकट बुकिङ गरिरहेका छन्।
यसका साथै दशैँका लागि विभिन्न समूह बनाएर सवारी चेकजाँच भइरहेको तथा उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार भक्तपुरको जगाती, काठमाडौँको कोटेश्वर, कलंकी, नयाँबसपार्क, स्वयम्भू, गौशाला, फर्पिङ लगायत १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ।





