बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशनको आज बुधबार २५ दिन भएको छ।
पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पनि पहल नभएकाले अनसन जारी रहेको बताइएको छ।
झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल नचाल्दासम्म आफूहरुको अनशन जारी राख्ने झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिले जनाएको छ।
रिले अनशनमा भजनकीर्तन, ड्यौडा गीत गाउँदै सरकारलाई दबाब दिने गरिएको बताइएको छ। झुलाघाट नाका सुदूरपश्चिमको आर्थिक विकाससँग जोडिएको नाका भएकाले यो नाकामा पुल आवश्यक रहेका समितिले जनाएको छ।
अनशनमा बैतडीवासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका छन्। अनशनमा उद्योग वाणिज्य सङ्घसँगै निर्माण व्यवसायी सङ्घ, यातायात व्यवसायी सङ्घ, पत्रकार महासङ्घ तथा होटल व्यवसायी सङ्घले समेत ऐक्यबद्धता जनाएको छ। सरकारी पक्षको उदासीनताका कारण अनशन अझै लम्बिने देखिएको छ।
झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताहरुले आश्वासन दिएको भए पनि कसैले पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनशनमा सहभागीले बताएका छन्। आफूहरुका माग पूरा गर्नेतर्फ सरकार सचेत नभए माइतीघर मण्डलामा अनशन थाल्नेसमेत चेतावनी दिइएको छ।
विसं २०५९ मा दश हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताइएको छ।
यसका साथै मोटरेबल पुल निर्माणको लागि विसं २०७५ फागुनमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो। करीब १५० वर्ष अगाडि मात्रै इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन्।
सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो। जिल्ला प्रशासन कार्यालय अगाडि भदौ २२ गतेदेखि अनशन शुरु भएको हो। रासस





