ललितपुर–कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकमा आवश्यक हुने पशु उत्पादनलाई ध्यानमा राखी तिनीहरुको पहिचानसहित व्यवसायमा लाग्न किसान, उत्पादक र सो क्षेत्रका विज्ञलाई सुझाव दिएका छन् ।
पशु सेवा विभागले मंगलबार यहाँ आयोजना गरेको ‘विभागको स्थापना दिवस तथा विश्व पशुपन्छी दिवस–२०७६’ को सप्ताहव्यापी कार्यक्रमको अवसरमा मन्त्री खनालले देशमा आवश्यक पर्ने अन्नलगायत मासुजन्य पदार्थको विश्लेषण गरी त्यसैअनुरूप उत्पादनमा जोड दिन सो क्षेत्रमा लागेका सम्बन्धित पक्षलाई आग्रह गरे ।
“देशमा खाली रहेको बाँझो जमीन र बेरोजगारले रोजगारको रूपमा पशु उत्पादन व्यवसायमा ध्यान दिने हो भने मूल्य तिरीतिरी आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने थियो”, उनले भने, “आफ्नो स्वामित्वमा जग्गा जमीन भएका दाजुभाइ तथा दिदीबहिनीले त्यसलाई खनजोत गरी उत्पादनमा जोड दिँदा पशुलगायत कृषितर्फको समस्या समाधान हुने थियो ।” देशवासीमा अल्छीपना बढ्दै गएका कारण दरिलो काममा लागी नपर्दा कृषि क्षेत्रमा परिणाममुखी नतिजा पाउन नसकेको मन्त्रीको भनाइ थियो ।
सरकार र मन्त्रालयलाई दोष लगाउनुभन्दा योजना निर्माण गरी त्यसको समस्या समाधान, आधुनिक औजार, यन्त्र र उपकरणमा जोड, नयाँ बीउबिजन प्रयोगमा लाग्न कृषिमन्त्रीले आग्रह गरे। पशु उत्पादन तथा खेतबारीमा काम गर्ने किसानको सङ्ख्या घट्दै जानु तर सुपथ मूल्यमा सामान उपभोग गर्न खोज्नुका कारण कृषि क्षेत्र धराशायी बन्दै गएको मन्त्री खनालले ध्यानाकर्षण गराए ।
“मन्त्रालयले पशु उत्पादनमा जोड दिन नेपालको नौ वटा स्थानमा फार्म सुधारका लागि बजेट छुट्याएको छ”, मन्त्री खनालले थपे, “राँगा, माछा, कुखुरा र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको छ ।”
मन्त्रालयका सचिव डा युवकध्वज जिसीले नेपालमा चार मेट्रिक टन धान उत्पादन हुँदाहुँदै पनि अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेकोमा दुःख व्यक्त गरे। “कृषिकर्मीले बढीभन्दा बढी स्वदेशी उत्पादनमा जोड दिनुपर्ने देखिन्छ”, उनले भने, “नेपालमा सङ्घीय सरकार लागू भएसँगै तीन तहको सरकारमा भएका व्यक्ति एक अर्कामा उत्तरदायी नभएका कारण कृषि मन्त्रालयलाई अप्ठ्यारो परको छ ।”
विभागका महानिर्देशक वंशी शर्माले देश खसी, बोका, बाख्रा उत्पादनमा ९८ प्रतिशत सफल भएको बताए । “नेपाल माछा उत्पादनमा ८९ प्रतिशत सफल हुनुका साथै कुखुराको मासु र अण्डा उत्पादनमा पूरै आत्मनिर्भर भएको छ”, उनले भने, “हाल मुलुकमा पशु बीमा गर्ने मानिसको सङ्ख्या बढेको, पशुको स्वास्थ्यलाई ध्यानमा राखी नेपालमै १३ किसिमको खोेप उत्पादन र छ लाखभन्दा बढी पशुमा कृत्रिम गर्भाधारण गरेको, ८०७ प्रकारको दाना र १०७ किसिमको घाँसको नमूना सङ्कलन गरी उत्पादनमा जोड दिनुका साथै विभागले ३४ वटा फार्म अनुगमन, विभागमा ५० वटा नयाँ ह्याचरी र कृषि फार्मको नयाँ दर्ता सङ्ख्या बढेको छ ।” विभागले पशु दिवसको अवसरमा सो क्षेत्रमा लागेका मानिसलाई सम्मान गरेको थियो ।रासस





