नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

काठमाडौँ– नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौता भएको छ।

क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन्। योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको छ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा मंगलबार नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

‘आइकाओको प्रधान कार्याल मन्टियल क्यानाडामा आज (१ अक्टोबर सन् २०१९ मा) नेपाल सरकार र अष्ट्रेलिया सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक समझदारीपत्र ९एमओयु०मा हस्ताक्षर भएको छ’, विज्ञप्तिमा उल्लेख छ। सम्झौताअनुरुप दुवै पक्षका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयानबाट सात उडान गर्न सक्नेछन्।

नेपालका तोकिएका एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा गरी जम्मा सात उडान गर्न पाउनेछन् । अन्य विमानस्थलमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी भएको छ। यस्तै अष्ट्रेलियन पक्षका एयरलाइन्सले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सात उडान गर्न पाउने जनाइएको छ । पोखरा, भैरहवालगायत अन्य विमानस्थलमा सातामा २८ उडान गर्न सक्नेछन्।

दुईपक्षीय समझदारीअनुसार दुई मुलुकका एयरलाइन्सले जुनसुकै प्रकारको वायुयान प्रयोग गरी आ–आफूले निर्धारण गरेको उडान सङ्ख्या वा क्षमतामा डेडिकेटेड कार्गो उडान गर्न पनि पाउने जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार