काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा अनुगमन गरेको छ ।
नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि विभागको अनुगमन टोलीले सोमबार कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको थियो । विभागले ती प्याज व्यापारीको परिचय सार्वजनिक गरेको छैन । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
अनुगमन टोलीले खरीद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
अनुगमनका क्रममा व्यापारीले अवरोध गर्ने आशङ्कामा विभागको टोली ठूलो सङ्ख्यामा सुरक्षाकर्मी लिएर कालीमाटीस्थित तरकारी बजार पुगेको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको भाउ अस्वभाविकरुपमा वृद्धि भएको छ ।
केही दिनअधिसम्म प्रतिकिलो १०० मा बिक्री भइरहेको प्याजको खुद्रा मूल्य आज कालीमाटी बजारमा १३५ प्रतिकिलो पुगेको छ । कालीमाटीस्थित तरकारी बजारमा आज प्याजको थोक मूल्य औसत प्रतिकिलो रु ११५ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । ।





