जिउँदो खसी, बोकाको मूल्य प्रतिकेजी ५५०

काठमाडौँ – सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ।

कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरेको छ।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ।

सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो।

यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याइँदै छ।

कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ। सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने कम्पनीको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार