काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको एक वर्षभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साेमबार ललितपुरको भैँसेपाटीस्थित प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासको शिल्यान्यास गर्दै उनले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाई भएको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेत्रमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको जनाए। उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मर्न नपरोस् भन्नका लागि गरिबी लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पुर्याउने जानकारी दिए।
‘हामी देखिने गरी सामाजिक रूपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला, उनले भने, ‘हरेक दिन नेपाल एक कदम अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ। गैरमुद्दालाई मुद्दा बनाएर विरोध गर्नेहरु थाक्लान् तर सरकार आफ्नो बाटोमा अडिग रहनेछ।’





