जलेश्वर– महोत्तरीमा सात दिनदेखि लगातार वर्षा हुँदै आएको छ। अविरल वर्षा भइरहेको हुनाले जनजीवन अस्तव्यस्त बनेको छ।
दैनिक अविरलरुपमा पानी पर्दा लाखौँ मूल्यका तरकारीबाली नष्ट हुनाका साथै धानखेतीलाई पनि अत्यधिक पानी भएपछि नोक्सानी भइरहेको किसान बताउँछन्। त्यस्तै पानी पर्दा जिल्लाका विभिन्न गाउँ ठाउँमा अहिले भइरहेको विकास निर्माणका कामकाज प्रभावित बनेको छ भने दिनहुँको वर्षाले विभिन्न गाउँठाउँ डुबानमा पर्ने अवस्थासमेत आएको छ।
जिल्लाको रातो, मरहा, अंकुशी, विग्ही, जङ्घालगायतका सबै नदी पानीले भरिएका छन् भने कुनै पनि बेला बाढी आएर गाउँघरमा पस्ने सम्भावना बढेको छ । दैनिकरुपमा परेको पानीले जिल्ला सदरमुकाममा अवस्थित कारागार, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदातललगायत विभिन्न सरकारी कार्यालय र बजार क्षेत्र जलमग्न भएको छ ।
यसैगरी जिल्लाका प्रमुख सडकखण्ड जलेश्वर जनकपुर, जलेश्वर बर्दिबास, जलेश्वर भिठ्ठामोड, जलेश्वर मटिहानी, जलेश्वर सम्सीको धेरैजसो भागमा कुनै पनि बेला बाढी आएर सडक बगाउने तथा यातायात ठप्प हुने जोखिम बढेको छ । दैनिकजसो परेको पानीले जिल्लाका हाट बजार, गाउँ घर सबैलाई हिलैहिलो बनाएको छ भने यसबाट मानिस, पशुपक्षी, बालीनाली सबै प्रभावित भएका छन् ।





