पासाङ ल्हामु सडक मर्मत गर्दा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौँ– वर्षाका कारण अवरुद्ध पासाङ ल्हामु सडक मर्मत गर्दा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल जाने उक्त मार्ग वर्षाले अवरुद्ध पारेपछि मर्मत गर्दा फोहोर बोकेर जाने गाडी बाटो मै रोक्नु परेको काठमाडौँ महानगरले जनाएको छ।

दुई सातादेखि नागार्जुनमा सडक मर्मतको काम भइरहेकाले फोहोर व्यवस्थापनमा समस्या भएको काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले हाकाहाकीलाई जानकारी दिए।

‘नागार्जुनको बाटोमा ग्राभेल हाल्ने काम भइरहेकाले गाडी जान सक्ने अवस्था छैन्,’ उनले भने। वैकल्पिक मार्ग भएर केही गाडी गए पनि समस्या पूर्ण रुपले समाधान हुन नसकेको उनी बताउँछन्।

अन्य समयमा भन्दा वर्षात् र चाडबाडमा काठमाडौँ उपत्यकामा बढी फोहोर उत्पादन हुन्छ । पर्याप्त पूर्वाधार नभएकाले हरेक वर्ष बर्खामा फोहोर व्यवस्थापनको समस्या दोहोरिने गरेको छ।

उपत्यकाबाट दैनिक एक हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर संकलन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी करिव ३ सय गाडी फोहर फाल्न प्रयोग हुन्छन्।

फोहोर व्यवस्थापनका लागि महानगरले पछिल्लो समय कुहिने र नकुहिने फोहोर संकलन स्किम शुरु गरे पनि खासै प्रभावकारी हुन सकेको छैन्।

ताजा समाचार

सम्बन्धित समाचार