Wednesday, October 23, 2024

राजधानीकै विद्यालयका शौचालय फोहर र दुर्गन्धित

काठमाडौं– राजधानीको डिल्लीबजारस्थित पद्यम कन्या माध्यमिक विद्यालय । पर्याप्त शौचालय छन् तर सफा छैन । शौचालयको सीट मात्र होइन नजिकै राखिएको बाल्टिन पनि पहँेलो छ । शौचालयमा न त ब्रस नै देखिन्छ ।

विद्यालयको सरसफाइको अवस्थाबारे अनुगमनमा हिँडेको काठमाडौं महानगरपालिकाको टोलीमा रहेका पद्यम कन्या स्रोत केन्द्रका स्रोतव्यक्ति खगराज जोशी भन्छन्, ‘शौचालय बाहिरको हात धुने धारामा पनि साबुन देखिएन । बेसनको तलतिर पहँेलो पानीको दाग ।’

सरसफाइमध्येको एउटा सूचक शौचालय सफा हुनुलाई मानिन्छ । तर शौचालयको सरसफाइमा मात्र होइन छात्रा अध्ययन गर्ने विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन पनि नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

‘प्रयोग भएको प्याड र क्याम्पसको फोहर एउटै डस्टिबिनमा फ्याँकिएको पाइयो,’ स्रोतव्यक्ति जोशीले भने, ‘प्याडको व्यवस्थापन छुट्टै गर्नुपर्छ भनेर क्याम्पस प्रशासनलाई भन्दा ‘मेसिन बिग्रिएको’ भनियो।’ उनका अनुसार जैविक, अजैविक फोहर र स्यानिटरी प्याडको तत्काल छुट्टाछुट्टै व्यवस्थान गर्न निर्देशन दिइएको छ ।

शौचालयसँगै विद्यालयको फोहर व्यवस्थापनमा कमजोरी हुनुमा खानेपानीको उपलब्धता कम हुनु र विकल्पमा भूमिगत पानी निकाल्नु रहेको विद्यालय प्रशासनले अनुगमन टोलीलाई बताएको थियो ।

तर, स्रोतव्यक्ति जोशी भन्छन्, ‘खानेपानीको अभाव देखाएर पन्छिन मिल्दैन । सरसफाइ पहिलो प्राथमिकता हो, विद्यालय प्रशासनलाई सुधार गर्न निर्देशन दिएका छौ ।’

काठमाडौं महानगरपालिका वडा नम्बर २९ की वडा सदस्य सुशीला ढकाल समेत रहेको अनुगमन टोली बिहीबार नै डिल्लीबजारको विजय स्मारक विद्यालयमा पुग्यो ।

विजय स्मारकको कक्षा कोठामा डस्टबिन राखिएको पाइएपनि शौचालय सरसफाइमा खासै ध्यान नदिइएको पाइएको श्रोतव्यक्ति जोशीले बताए ।

महानगरको अनुगमन टोलीले सामुदायिक विद्यालयमा सरसफाइ, खानेपानी, फोहर व्यवस्थापन, हरियालीको अवस्थाका बारेमा अनुगमन गरिरहेको छ । तर स्मारकमा बोटविरूवा रोपिएको नपाइएपछि टोलीले विद्यालयमा हरियाली वातावरण बनाउन निर्देशन दिएको छ।

अनुगमन टोली बिहीबार नै रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालय र शहीद शुक्र माध्यमिक विद्यालयमा पुग्यो। पद्मोदयमा सड्ने र नसड्ने फोहर एउटा स्थानमा विस्थापन गर्ने गरेको पाइएको र शुक्रमा शौचालय सरसफाइमा ध्यान नदिइको पाइएको जोशीले बताए।

‘पद्मोदयमा भवन निर्माणको काम भइरहेको रहेछ । प्रर्याप्त ठाउँ भएपनि बगैचा नभएको पाइएपछि फूलसँगै बोटविरुवा रोप्न भनेका छौं,’ स्रोतव्यक्ति जोशीले भने, ‘सड्ने र नसड्ने फोहर अलग–अलग डस्टिबिनमा राख्न र कक्षा कोठामै डस्टिबिनको व्यवस्था गर्न निर्देशन दिइएको छ।’

जोशीका अनुसार शहीद शुक्रमा एउटा शौचालय बिग्रिएको लामो समय भएपनि मर्मत नगरेको पाइएको छ, भने महिला शौचालय जीर्ण अवस्थामा रहेको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ।

विद्यालय शिक्षा स्थानीय तह अन्तर्गत आएसँगै काठमाडौं महानगरले यहाँका ९४ वटै सामुदायिक विद्यालयको अनुगमन थालेको छ।

वातावरण विभागका प्रमुख हरि कुँवरका अनुसार विद्यालयको अनुगमनमा स्रोत व्यक्तिसँगै सम्बन्धीत वडाका जनप्रतिनिधिसहित महानगरका प्रतिनिधि खटिएका छन्।

उनका अनुसार अनुगमनका क्रममा विद्यालयको अवस्थालाई ४० अंकमा मूल्यांकन गरिँदैछ। जसमा फोहोर व्यवस्थापनलाई १० अंक दिइएको छ, भने हरियाली, पानीको उपलब्धता र स्वच्छता ८–८ तथा सरसफाइलाई ६ अंक दिइएको छ।

महानगरकी उपनिर्देशक सरस्वती पोख्रेलले महानगरकै शिक्षा विभागसँगको समन्वयमा अनुगमन भइरहेको र वैशाख महिनाभित्र अवस्थाबारे विवरण आएपछि सुधारका लागि काम गरिने बताइन् ।

तस्बिर सौजन्य : चन्द्रमणि भट्टराई।

ताजा समाचार

सम्बन्धित समाचार