स्वदेशी उत्पादनमा कमी आएपछि तरकारीको भाउ बढ्यो

काठमाडौँ– एक साताको अवधिमा अधिकांश तरकारीको मूल्य बढेको छ।

तरकारीको माग धेरै आपूर्ति कम हुँदा बजारमा तरकारीको मुल्य बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

हाकाहाकीसँग कुरा गर्दै कालीकाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले मूल्य वृद्धिका कारण लगातार वर्षा र कम उत्पादन रहेको बताए।

वर्षाद्का कारण तरकारी पर्याप्त मात्रामा उब्जाउन नसक्दा तरकारी महंगो हुँदै गएको उनको भनाई छ।

सोह्रश्राद्ध लागेसँगै धेरैका भान्सामा पाक्ने विभिन्न प्रकारका साग अहिले कालीमाटी बजारमा कम आउन थालेको उनले बताए । ‘अहिले उत्पादन कम र माग बढ्दो छ,’ उनले भने।

सिमी, बोडी घिरौला करेला, परबल, आलु, प्याज लगायतका धेरै तरकारीहरूको मुल्य बढेको उनले जानकारी दिए । प्याजको लागि नेपाल पूर्ण रुपमा छिमेकी मुलुक भारतमा निर्भर भएकाले भारतमा प्याजको मूल्यमा वृद्धि हुँदा नेपालमा वृद्धि भएको उनले बताए।

‘माग यथावत् छ, प्राय तरकारी र फलफूल निर्यात गर्नुपर्छ, नेपालमा उत्पादन पातलिदैं गएपछि मुल्य उकालो लागेको हो,’ उनले भने।

भारतबाट पनि निरन्तर रुपमा आलु, प्याज, कागती लगायतका विभिन्न फलफुल तथा तरकारी आयात भइरहेको उनले जानकारी दिए।

बिहीबार कालीमाटी बजारमा रहेको तरकारीको खुद्रा मुल्य गोलभेंडा प्रतिकेजी ९५ रुपैयाँ, आलु प्रतिकेजी ४५ देखि ९५ रुपैयाँसम्म, प्याज १ सय १५ रुपैयाँ, काउली प्रतिकेजी १ सय २५, गाजर प्रतिकेजी १ सय २५, भन्टा प्रतिकेजी १ सय २५, बोडी (तने) प्रतिकेजी १ सय ३५ रुपैयाँ छ।

त्यसैगरी घिउ सिमी प्रतिकेजी १ सय ४५, तिते करेला प्रतिकेजी १ सय २५, साग १ सय ३५ देखि २ सय ९५ प्रतिकेजी, अदुवा प्रतिकेजी २ सय ४५ र लसुन प्रतिकेजी २ सय ४५ रुपैयाँमा छ। यद्यपी व्यापारीले बेच्ने मुल्य तोकिएको भन्दा निकै फरक पाइने गरेको उपभोक्ताले गुनासो गर्ने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार