काठमाडौँ – बहुचर्चित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि हात्तिको हिड्ने बाटो नै मासिनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वातावरणविदहरूले अहिलेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए) अनुसार निजगढ विमानस्थल निर्माण गर्दा ठूलो मात्रामा वनजंगल मासिनुका साथै हात्ति आवतजावत गर्ने मार्ग नै मासिने चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै वातावरणविद् प्रभु बुढाथोकीले विमानस्थल निर्माणले नेपाल तथा भारतका हात्तीलाई प्रत्यक्ष असर पार्ने बताए । ‘हात्तीको बथान एकै ठाउँमा नबस्ने भएकाले नेपालका हात्ती भारत जाने तथा भारतका हात्ती नेपाल आउने गर्छन्’ उनले भने, ‘अहिले जहाँ विमानस्थल बन्न लागेको त्याे क्षेत्र उनीहरू आवतजावत गर्ने मुख्य मार्गमा पर्छ।’
सरकार विमानस्थल बनाउने भन्दा पनि नबनाउने ध्येयका साथ अगाडि बढेकाले त्यहाँ देखिएका समस्या समाधानतर्फ नलागेको उनको आरोप छ।
त्यसैगरी अर्का वातावरणविद् गोविन्द शाह विमानस्थल निर्माण गर्दा २४ लाख रुख काट्न आवश्यक नभएको बताउँछन्। सरकारले आफैँले तोकेको संरक्षित क्षेत्रलाई आफैँले नास गर्न खोजेको उनको धारणा छ।
कार्यक्रममा निजगढ विमानस्थलको विषयमा बोल्दै सांसद एकबाल मियाले भने फरक धारणा राखे। २४ लाख रुख काटिने, ८ हजार हेक्टरमा विमानस्थल बन्ने भन्ने सबै कुरा विमानस्थल नबनाउन गरिएको षडयन्त्र मात्र भएको उनको भनाइ छ। १३ सय हेक्टर जमिनमा विमानस्थल बन्ने तथा पाँच देखि सात लाख मात्र रुख काटिने भएपनि विमानस्थल बन्न नदिने उद्देश्यले अफवाह फैलाइएको उनकाे दाबी छ ।





