काठमाडौँ– ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला घट्न सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुुसार सवारी साधन विशेष जाँचका लागि ४ सय ३० जनशक्ति थप गरिएको छ। हाल ३ सय ६८ स्थानमा नियमित जाँचका लागि ७ सय ५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४ सय ३० जनशक्ति थप गरिएको छ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा विशेष जाँचको व्यवस्था गरेको हो।
जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए/नभएको, सवारी साधनभित्र भाडादर राखे/नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे/नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे/नराखेकोलगायतका कुरा हेर्नेछ। चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालकलाई कारवाही गर्ने महाशाखाले जनाएको छ।
नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ।
यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामूलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ।
चाडपर्वको समयमा थानकोट–नागढुुङ्गा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको छ।
महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५ सय ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ। महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गरेको हो।





