इस्लामावाद– पूर्वी पाकिस्तानमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ भने तीन सय जनाभन्दा बढी मानिस घाइते भएका छन् ।
मंगलबार ५.८ रेक्टरको भूकम्पको केन्द्रबिन्दु पाकिस्तान–प्रशासित कश्मीरको मिरपुरनजिकै रहेको बताइएको छ। दिउँसो ३ बजे भूकम्पको पहिलो धक्का महसुस गरिएकोमा ४ बजेर ५० मिनेटमा ठूलो भूकम्प गएको हो ।भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो।

क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौँ मानिसको ज्यान गएको थियो।
पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तानप्रशासित कश्मीरमा पनि मङ्गलवार अपराह्ण भूकम्प महसुस भएको थियो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ।
भूकम्पका कारण पाकिस्तानी क्षेत्रमा सडक, मोवाइलका टावरहरू, विद्युतका खम्बाहरूमा क्षति पुगेको छ। पाकिस्तानी सेना तथा प्रहरी उद्धारमा जुटेका छन् ।





