काठमाडौँ– नेपालीहरुको माहान पर्वलाई मध्यनजर गर्दै सार्वजनिक सवारीमा रुट परमिट (इजाजतपत्र ) खुला गरिएको छ ।
यातायात व्यवस्था विभागले नेपालीको महान पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन रुट परमिट खुला गरेको हो । इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहज रुपले गन्तव्यमा पु-याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने भएको छ ।
असोज १२ देखि १९ गतेसम्म परमिट खुला गरिएको विभागले जनाएको छ । इजाजतपत्र खुला भएसँगै जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् । दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुने दाबी विभागको छ ।
यसको साथै विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
विभागले असोज १२ देखि १९ सम्म नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको हो । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधन आवागमनमा समस्या हुने भएकाले ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।





