महेन्द्रनगर – कञ्चनपुर खुला दिसामुक्त जिल्ला घोषणा भएको २ वर्ष पुग्दैछ । कञ्चनपुर जिल्लालाई २०७४ पुस ७ गते धुमधामका साथ खुल्ला दिसामुक्त जिल्ला घोषणा गरियो । तर, जिल्लामा रहेका सार्वजनिक शौचालय भने अझै व्यवस्थित भएका छैनन्।
जिल्लाका महेन्द्रनगर, दैजि, झलारी, गुलरिया लगायतका बजारमा रहेका शौचालय अव्यवस्थित भएको स्थानीय बताउँछन्। सदरमुकाम महेन्द्रनगरमा आधा दर्जनभन्दा बढी सार्वजनिक शौचालय छन्। महेन्द्रनगरमा भएका अधिकांश शौचालय प्रयोगविहीन जस्तै बनेका छन्। शौचालय वरिपरि जथाभावी दिसापिसाव गर्दा महेन्द्रनगर बजार क्षेत्र नै दुर्गन्धित बनेको छ।

बजार क्षेत्रका शौचालयको व्यवस्थित प्रयोग नहुँदा केही बन्द छन्। कतिपय शौचालय व्यापारीले कब्जा गरेका छन्। भीमदत्त नगरपालिकाले निर्माण गरेका शौचालय समेत बेवारिसे हुँदा शौचालयको वरिपरि दिसापिसाव गरिन्छ। जथाभावी दिसापिसाव गर्दा शौचालय नजिक नाक थुनेर हिड्नुपर्ने अवस्था आएको स्थानीय सन्तोष विष्ट बताउँछन् । ‘महेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालय बेवारिसे छन्,’ उनले भने,‘शौचालय दुर्गन्धित भएर भित्र पस्नै नसकिने भएका छन् ।’
महेन्द्रनगरमा रहेका कतिपय सार्वजनिक शौचालय व्यापारीको कब्जामा रहेको उनले बताए। केही व्यापारीहरूले सार्वजनिक शौचालय कब्जा गरेर पसल थापेकाे उनकाे भनाइ छ । कुनै शौचालयमा फोटो स्टुडियो राखिएको छ भने कुनैमा ताल्चा ठोकेर गोदाम घर बनाइएको छ,’ उनले भने ।
खुला दिसामुक्त जिल्लाको सदरमुकाममा समेत शौचालय व्यवस्थित नहुनु सरोकारवाला निकायको लापरबाही भएको महेन्द्रनगरका स्थानीय लालबहादुर थापा बताउँछन् । ‘खुला दिसामुक्त क्षेत्र घोषण गर्नुपूर्व नै सार्वजनिक शौचालय पनि व्यवस्थित गर्नुपथ्र्यो तर, त्यति बेला हतार गरियो,’ उनले भने, ‘ अझै पनि भीमदत्त नगरपालिकालगायत सरोकारवाला निकायले निर्माण गरेको शौचालय व्यवस्थित गर्न सकेको छैन्।’
स्थानीय बजार व्यवस्थापन समिति, नगरपालिकाले शौचालय व्यवस्थित गर्न नसक्दा बजार क्षेत्र दुर्गन्धित भएको उनी बताउँछन् । स्थानीय सरकार जिम्मेवार नहुँदा शौचालय व्यवस्थित हुन नसकेको महेन्द्रनगरका प्रदिप जोशीले बताए। ‘सार्वजनिक शौचालय व्यवस्थित गर्न भीमदत्त नगरपालिकासँग पटक–पटक माग गरेका छौँ, उनले भने,‘ तर भीमदत्तले शौचालय व्यवस्थित गर्नेतर्फ ध्यान दिएको छैन्।’
शौचालय सञ्चालन तथा व्यवस्थापनकाे काम ठेक्कामा नजाने भएकाले व्यवस्थित गर्न नसकिएको भीमदत्त नगरपालिकाका योजना अधिकृत पुष्पराज भट्टले बताए । ‘शौचालय व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि २/३ पटक टेण्डर आह्वान गर्दा समेत ठेक्कामा नजाने, ठेक्कामा गएपनि काम हुन नदिने प्रवृतिले समस्या भएको छ,’ उनले भने,‘प्रत्येक वर्ष शौचालयको ठेक्का लागि टेण्डर आह्वान गर्छौ तर, ठेक्का बोल्न कोही आउँदैन।’ महेन्द्रनगर बसपार्क क्षेत्रको शौचालय मात्र व्यवस्थित भएको उनले जनाए । नगरपालिकाले कर्मचारी राखेर सञ्चालन गर्न पनि आर्थिक भार बढी हुने हुँदा समस्या भएको उनको धारणा छ । लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएका सार्वजनिक शौचालय व्यवस्थित नहुँदा बजार क्षेत्र दुर्गन्धित भएको हो।





