दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

काठमाडौँ – दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्। आइतबारबाट टिकट बुकिङ खुलेपछि नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन्।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २६ गते भएको निर्णयअनुसार असोज ५ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको हो।

लामो दूरीका सवारीसाधनलाई मात्र अग्रिम टिकट खुलाइएकामा आइतबार १४ हजार र सोमबार छ हजार यात्रुले अग्रिम टिकट लिएको नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए। टिकट बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म वितरण गर्ने गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए। “दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ”, उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार