काठमाडौँ– जुन १० मा नेपाल प्रवेश गरेर २३ सेप्टेम्बर (अर्थात आज) बाहिरिनुपर्ने मनसुन यसपालि दशैँसम्म लम्बिने भएको छ।
अबको १ हप्ता मनसुन पूर्ण रुपमा नै सक्रिय रहेन र पूर्ण रुपमा बाहिरिन डेढ हप्ता लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जानकारी दिएको हो।
हाकहाकीसँग कुरा गर्दै मौसमविद मिन कुमार अर्यालले मनसुन सकिने बेलामा बिस्तारै पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्ने भएतापनि हाल वायु पश्चिमतिर नै सक्रिय रहेको बताए।
‘मनसुन सकिन जुन किसिमको वातावरण आवश्यक पर्ने हो त्यो अहिले भइरहेको छैन,’ उनले भने।
तर मनसुन लम्बिनुको यकिन कारण भने विभागसँग छैन। जलवायू परिर्वतन एउटा कारण हुन सक्ने विज्ञहरूको भनाई छ।
नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो। त्यसैले यस वर्ष एक–डेढ साता मनसुन लम्बिन सक्ने अनुमान गरिएको मौसमविद् अर्यालले बताए।
गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो। मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ तर अहिले देशभर नै वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मनसुनको समय लम्बिए पनि अब भारी वर्षाको सम्भावना भने नरहेको उनले भनाइ छ। सामान्यतया १०० दिनसम्म मनसुनी वर्षा हुने भए पनि केही वर्षयता ती दिनको संख्या बढिरहेको छ।
आज देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मङ्गलबार र बुधबार पनि केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।





