बाहिरी चक्रपथको अन्यौलता सकियो, निर्माणका लागि चिनियाँ कम्पनी ‘सर्टलिस्ट’मा

काठमाडौँ – लामो समयदेखि अन्यौलमा रहेको बाहिरी चक्रपथको निर्माणका लागि चिनियाँ कम्पनी छानिएकाे छ। लगानी बोर्डको सोमबारको ४० औँ बैठकले उपत्यकाको तीन वटै जिल्ला छुने बन्ने बाहिरी चक्रपथको निर्माणका लागि चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनीलाई  छानेकाे हाे।

यद्यपि बाेर्डले उक्त अायाेजनाकाे  निर्माण सम्पन्न गर्न लाग्ने समय, लागनीकाे माेडल लगायतका विषयमा भने केही निर्णय गरेकाे छैन् ।

यसअघि बाहिरी चक्रपथको पहिलो खण्डको चोभारदेखि गाम्चा हुँदै सतुंगलसम्मको ६ किलोमिटर सडक खण्डको कित्ताकाटको विषय टुंगो नलाग्दा आयोजनाको काम त्यतिकै अलपत्र परेको थियो। आयोजना र शहरी विकास मन्त्रालयबीच समन्वय नहुँदा यस विषयमा अन्यौलता छाएको थियो।

कस्तो बन्नेछ बहिरी चक्रपथ ?
बाहिरी चक्रपथ ८ लेनको बन्नेछ। सडकका दुवै भागमा साइकल ट्रयाकका साथै ग्रिन बेल्टसहितको फुटपाथ निर्माण हुने बताइएको छ। फुटपाथसहित ५० मिटरको बाटो बन्ने छ भने बाटोको दुवैभागमा २ सय ५०–२ सय ५० मिटरको जग्गा विकास योजना बन्नेछ।

चक्रपथले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लालाई छुनेछ, भने तराई जोड्ने फास्ट ट्रयाकका साथै अरनिको, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गसँग जोडिने छ। यसका साथै चक्रपथमाचारवटा फ्लाइओभर बन्नेछ। ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथको निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

कुन जिल्लामा कति किलोमिटर ?
बाहिरी चक्रपथको क्षेत्र सबैभन्दा धेरै काठमाडौँमा पर्छ। त्यसपछि भक्तपुर र ललितपुरभित्र पर्छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ।

बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।

बाहिरी चक्रपथका फाइदा
बाहिरी चक्रपथ निर्माण भएमा काठमाडौँको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। सरकारले सडक आसपासमा विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थल लगायत पूर्वाधारसहितको व्यवस्थित बस्ती विकास गर्ने योजना अगाडि सारेको छ।

यसका साथै अरनिको र पृथ्वी राजमार्गसहित फास्ट ट्रयाकसँग जोडिने भएकाले बाहिरी चक्रपथ निर्माण पश्चात उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार