काठमाडौँ –उर्जा जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले विभिन्न आयोजनाको निर्माणका क्रममा गर्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन(इआइए) नै ‘कपी पेस्ट’ भइरहेकाे बताएका छन्।
आइतबार नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित ‘मोदी खोला जलविद्युत आयोजना निर्माणले पारेको वातावरणीय प्रभाव सम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रम’मा बोल्दै मन्त्री पुनले हाल देशमा निर्माण भएरहेका प्राय आयोजनाको इआइए रिपोर्ट एक अर्काबाट ‘कपी पेस्ट’ हुने गरेको बताए।
नेपालमा हाल निर्माण कार्य धेरै तर विज्ञ थोरै भएकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन एक अर्काको हुबहु प्रस्तुत गरिने परिपाटी बढिरहेको उनको भनाइ छ।
‘हामी अहिले निर्माणको क्रममा छौँ । सडक, जलविद्युत, उद्योग लगायतका विभिन्न क्षेत्रमा नयाँ नयाँ निर्माण कार्य भइरहेको छ । यी सबैको निर्माण अघि इआइए गर्नुपर्छ,’ उनले भने, ‘तर हामीसँग यससँग सम्बन्धित विज्ञहरू धेरै छैनन्। त्यसैले सीमित विज्ञ धेरै काममा संलग्न हुँदा इआइए रिपोर्ट कपी पेस्ट गरिएको पनि पाइएको छ।’

काठमाडौँको इआइए गर्नुपर्नेमा जुम्लाको प्रतिवेदन मन्त्रालयमा पेश भएको उदाहरण दिँदै उनले रिपोर्ट बनाउँदा सबै क्षेत्रलाई समेट्न नसकिएको बताए।
‘जुनसुकै आयोजनाको निर्माण गर्दा पनि त्यहाँको वातावरणमा पर्ने असर, स्थानीयलाई पर्ने असर लगायतका विषयमा अध्ययन हुनुपर्छ तर, त्यसो भएको पाइँदैन, यसले गर्दा धेरै क्षति भइरहेको छ, ’उनले भने।
निर्माण गर्दा हुने क्षतिलाई कसरी कम गर्ने भन्ने विषय इआइए रिपोर्टमा हुनुपर्नेमा ‘कपी पेस्ट’ गर्नाले क्षति बढेको उनको धारणा छ।

कार्यक्रममा नेफेजका कार्यकारी अध्यक्ष चन्द्रशेखर कार्कीले मन्त्री पुनलाई मोदी खोला जलविद्युत आयोजना निर्माणले पारेको वातावरणीय प्रभाव सम्बन्धी प्रतिवेदन हन्तान्तरण गरेका थिए।
त्यसैगरी उक्त प्रतिवेदन तयार पार्नुको उद्देश्यमाथि प्रष्ट पार्दै वातावरणविद् बटुकृष्ण उप्रेतीले प्रत्येक आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन गर्नु भन्दा मोदी खोला जस्ता ‘क्यासकेड’ आयोजनाका लागि संयोजित वा रणनीतिक वातावरणीय मूल्यांकन प्रयोग गर्नु उपयुक्त हुने बताए।
कार्यक्रमको अन्त्यमा महासचिव निमेष रेग्मीले नेफेजले वातावरण र दीगो विकासका मुद्दालाई आम जनमानसमा पुर्याउने क्रममा नेपालमा भइरहेको विभिन्न आयोजना निर्माणले पुर्याएको वातावरणीय क्षतिको विषयमा प्रतिवेदन स्वरुप सरकारलाई जानकारी गराइरहेको बताए। त्यसमध्ये निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन विभागीय मन्त्रीलाई बुझाइसकिएको उनले जानकारी दिए ।





