काठमाडौँ – शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो । यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन् ।
यस्तै साँखु, जहरसिंहपौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैन । अरु बेला पनि यो सडकको अवस्था उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ । केराघारीका बासिन्दा सवारी साधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउँछन्।
जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो। यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुँदा बोकेरै जहरसिंहपौवा पुर्याउनुपर्ने अवस्था छ । “काठमाडौँ भनेर के गर्नु? बिरामीलाई बोकेरै अस्पताल पु¥याउनुपर्छ । सडक छ गाडी चल्दैन”, स्थानीय जीतबहादुर तामाङले भने।
वडाध्यक्ष सन्तबहादुर वाइबा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउँछन्। प्राकृतिकरुपमा रमणीय जहरसिंहपौवासम्म पुग्न निकै कठिन हुन्छ। हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन्। चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँठाउँमा खाल्टाखुल्टी छन् । “भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ”, सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले भने।
साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सीफेदी र नाङ्लेभारेमा बर्खाको समयमा बस चल्दैन । “बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ”, चौलागाईंले भने। साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्र गरिएको थियो। कालोपत्र गरिएको छ महीना बित्न नपाउँदै सबै उप्कियो। यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताउँछिन्। “हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्”, उनले भनिन्। रासस





