काठमाडौँ– नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका रुखहरूको क्षतिपूर्ति बापत वृक्षरोपण गर्न थालेको छ ।
कोल्हवी नगरपालिका, डिभिजन वन कार्यालय तथा द्रुतमार्ग सडक आयोजनाको संयुक्त सहभागितामा शनिबार बारा जिल्लाको कोल्हवी नगरपालिकामा बृहत वृक्षरोपण शुरु गरिएको नेपाली सेनाले जानकारी दिएको हो ।

कोल्हवी न.पा. वडा नं.८ शान्तिटोल स्थित राष्ट्रिय वन क्षेत्रमा रहेको ५.६१ हेक्टर खाली जग्गामा टिक, सिमल, सिरिश तथा जामुन जातका करिब ५ हजार नयाँ विरुवा रोपिएका छन् भने सोही क्षेत्रमा आफैं उम्रिएका करिब ३ हजार साल तथा अन्य जातका रुख विरुवाहरू लगायत नयाँ रोपिएका विरुवाहरूलाई तारबार गरि संरक्षण गर्ने कार्य समेत बताइएको छ ।
वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजना बीच भएको द्विपक्षीय समझदारी पत्र अनुरुप द्रुतमार्ग निर्माणको क्रममा हालसम्म हटाई सकिएका रुख संख्या १७ हजार ९ सय ४९ र भविष्यमा पुल तथा सुरुङ्ग निर्माणका लागि हटाउनु पर्ने रुख संख्या करिब २ हजार समेत गरि कुल रुख संख्या १९ हजार ९ सय ४९ को बदलामा विरुवा रोप्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

उक्त लक्ष्य अनुसार आयोजनाले गत वैशाखदेखि बारा जिल्लाको निजगढ तथा मकवानपुर जिल्लाको राजदमार ईलाकामा आफ्नै नर्सरी स्थापना गरी जमिन सुहाउँदो र छिटो बढ्ने विभिन्न प्रजातिका करिब १ लाख ५० हजार विरुवाहरू उत्पादन गरिसकेको छ भने आवश्यकता अनुसारका थप विरुवाहरु निरन्तर उत्पादन गर्दै फलफुलका विरुवाहरू समेत संकलन गरि वृक्षरोपण गर्ने योजना रहेको छ ।
बारा जिल्लाको निजगढ र कोल्हवी नगरपालिका अन्तरगतका विभिन्न सामुदायीक वन तथा राष्ट्रिय वन क्षेत्रमा खाली रहेका जग्गाहरुको पहिचान गरि सम्बन्धित सरोकारवालाहरु सहितको संयुक्त टोलीले हालसम्म करिब १८८ हेक्टर खाली जग्गाको सर्भे सम्पन्न गरिसकेको सेनाले जनाएको छ ।

साथै भविष्यमा बारा र मकवानपुर जिल्लामासमेत थप खाली जग्गाहरुको पहिचान र सर्भे कार्य निरन्तर गर्ने योजना रहेको छ । डिभिजन वन कार्यालयबाट उपलब्ध हुने करिब ३१५ हेक्टर सरकारी खाली जग्गाका प्लटहरुलाई आवश्यक फेन्सिङ्ग, सिचाई तथा संरक्षणको व्यवस्था गरि ५ वर्षसम्म विरुवा हुर्काई सम्बन्धित डिभिजन वन कार्यालयलाई पुनः हस्तानन्तरण गर्ने योजना अनुसार आयोजनाले वृक्षारोपणको कार्यलाई तिब्र गतिमा अगाडि बढाईरहेको छ ।
उक्त वृक्षारोपण कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधीहरु, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित सरोकारवाला निकायहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाहरुको समेत उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।





