काठमाडौँ – दशैँ, तिहार तथा छठमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि आज(आइतबार)बाट बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
काठमाडौँमा देशभरका विभिन्न जिल्लाका मानिस बसोबास गर्ने हुँदा दशैँ तिहार जस्ता पर्वमा घर फर्कने यात्रुको अत्याधिक चाप बढ्ने हुनाले यातायात व्ययसायीले बर्सेनी अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ।
यस वर्ष पनि यात्रुहरूको सुविधा, सुरक्षा र अन्य विषयलाई ध्यानमा राख्दै आज(आइतबार)बाट अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिज सरोज सिटौलाले जानकारी दिए।
हाकाहाकीसँग कुरा गर्दै उनले पूर्वघोषित मिति अनुसार नै आफूहरूले आइतबारबाट बसको अग्रिम टिकट बुकिङ खुला गरेको बताए।
‘हामीले पूर्व घोषित मितिअनुसार नै ५ गते(आज) बाट अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘थप टिकट काउन्टरको पनि व्यवस्था भएको छ, यात्रुहरूलाई काउन्टरमै गएर टिकट लिनुहुन आग्रह गर्छौँ।’
दशैँमा तराईका जिल्लामा भन्दा पहाडी जिल्लामा यात्रुको बढी चाप हुने भएकाले अहिले क्युमा रहेका बस भन्दा बढी आवश्यक परेको खण्डमा क्यु फ्री पनि गर्न सकिने उनले जनाए ।
उनका अनुसार पूर्व र पश्चिमका पहाडी जिल्लामा यात्रुको बढी चाप हुने भएकाले ति जिल्लामा आवश्यक बस थपिनेछ भने त्यसको व्यवस्थापन प्रदेश तथा जिल्ला यातायात व्यवसायी सङ्घले गर्ने छन्।
हाल काठमाडौँको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला, कोटेश्वरलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ गर्न सकिने छ। काउन्टरबाट बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म टिकट बिक्री गरिने महासचिव सिटौलाले जानकारी दिए।
यसका साथै टिकट अनलाइनबाट पनि बुक गर्न सकिने छ । अनलाइन बुकिङ बस सेवा डटकममार्फत गर्न सकिन्छ । बस सेवा डटकममा नेपालभरका एसी, डिलक्स, हायासलगायतका बसका टिकट उपलब्ध भएको सिटौलाको भनाई छ।





