हेटौँडा- कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड शुक्रबारदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ।
स्थानीय कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपभोक्ता समितिले वर्षाका कारण पहिरो गएकाले पूर्णरुपमा पहिरो फ्याँक्नुपर्ने भएकाले उक्त सडकखण्डमा सवारी आवतजावत बन्द गरिने भनी बिहीबार लिखित सूचना जारी गरिएको थियो।
कुलेखानी सडकअन्तर्गत पर्ने मदन भण्डारी राजमार्गको सिस्नेरी सडकखण्डमा केही दिनदेखि मर्मतसम्भार कार्य भइरहेकाले अझै पाँच–छ दिनपछि मात्र सिस्नेरीबाट यातायात सेवा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ। सिस्नेरीको प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा अहिले ढल निर्माण गर्नुका साथै पहिरो पन्छाउने, सडक फराकिलो पार्ने कार्य भइरहेको बताएका छन्।





