बाढी र पहिरोबाट एक सय ६१ जनाको मृत्यु, अर्बौंको क्षति

काठमाडौँ– अविरल वर्षापछिको बाढी र पहिरोमा परी हालसम्म एक सय ६१ जनाको मृत्यु भएको छ।

बाढीपहिरो र डुबानले देशभरका ६७ जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको २०७६ बैशाख १ गतेदेखि असोज १ गतेसम्मको तथ्यांक अनुसार बाढी पहिरो तथा डुबानबाट एक सय ६१ जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन्। साथै ३७ जना बेपत्ता छन्।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीबाट मात्रै ७२ जनाको मृत्यु भएको छ। तीन हजार ५८ परिवार प्रभावित भएका छन्। एक हजार ९ सय ५ घर आंशिक र चार सय ५० घर पूर्ण क्षति भएको छ। त्यस्तै २ सय ३८ गोठमा क्षति भएको छ भने एक सय ४२ चौपायाको मृत्यु भएको छ। बाढीबाट १ अर्ब ६ करोड ३३ लाख ३३ हजार २ सय ४७ रुपैयाँ बराबरको क्षति भएको छ।

पहिरोमा परी ८० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ भने ११ जना बेपत्ता छन्। पहिरोका कारण तीन हजार ३ परिवार प्रभावित भएका छन्। एक हजार ५ सय ८१ घर आंशिक र १ हजार १ सय २४ घर पूर्ण रुपले क्षति भएको केन्द्रको तथ्यांक छ। ७३ गोठमा क्षति हुँदा एक सय ३१४ चौपाया मरेका छन्। पहिरोका कारण ३९ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको क्षति भएकोे छ।

त्यसैगरी भारी वर्षाका कारण ९ जनाको मृत्य भएको छ भने ९१ परिवार प्रभावित भएका छन्। केन्द्रका अनुसार ३२ घर आंशिक तथा ३२ वटा घर पूर्ण रुपले क्षति भएको छ। १६ गोठमा क्षति पुग्दा ३९ पशु चौपायाको मृत्यु भएको छ। भारी वर्षाका कारण १ करोड ३२ लाख ८५ हजार ९ सय रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ।

हाल देशभर वर्षा जारी छ। वर्षासँगै बाढीपहिरो रोकिएका छैनन्। मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने बताएको छ। साथै नदीहरुमा पानीको वहाब बढ्न सक्ने भएकोले सर्तक रहन आग्रह गरको छ।

ताजा समाचार

सम्बन्धित समाचार