भूमि विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ– राष्ट्रियसभाको बैठकले बहुचर्चित एवं बहुप्रतिक्षित ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७६’ लाई बहुमतले पारित भएको छ ।

हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न पाउने व्यवस्था राख्दै राष्ट्रियसभाले पारित गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनको मंगलबारको बैठकमा सो विधेयक प्रस्तुत गरेकी थिइन् ।

मन्त्री अर्यालले विधेयकमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै भूमिहीनका समस्या र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन विधेयक आएको स्पष्ट पारिन् । उनले संविधानको भावनाअनुरूप विधेयक आएको, विधेयक कार्यान्वयनमुखी रहेको, गौचरणलाई विधेयकले संरक्षण गर्ने जानकारी दिइन् ।

यसअघि बैठकमा उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृतसमेत भएको थियो ।

यसअघि सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देवले भूमि व्यवस्थापनका लागि भूमिको हदबन्दी कायम गर्न माग गरे ।

अर्का सांसद रामप्रीत पासवानले दलित भूमिहीनको समस्या सम्बोधन गर्न विधेयक मौन रहेको टिप्पणी गर्दै यसलाई सच्याउन माग गरे । उनले लुकाएर राखेका जमीनलाई खोजेर ल्याउने काम नगरेकोमा आपत्ति जनाए ।

सांसद राधेश्याम अधिकारीले जमीनको हदबन्दीसम्बन्धी विधेयकको दफालाई सच्याउन माग गरे । सांसद डा विमला राई पौडेलले लामो समयदेखिको भूमिसम्बन्धीको बेथितिलाई अन्त्य गर्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

ताजा समाचार

सम्बन्धित समाचार