वातावरण निरीक्षकको संख्यामा वृद्धि तथा समूह थपको माग गर्दै वन मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ – प्रदूषणको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी स्वच्छ वातावरण कायम राख्न वातावरण निरीक्षकको संख्यामा वृद्धि, वन सेवा अन्तर्गत वातावरण समूह थप लगाएका चार बुँदे माग राख्दै नेपाल वन प्राविधिक संघ र फरेष्ट टेक्निसियन्स एसोसिएसन अफ नेपालले संयुक्त रुपमा वन तथा वातावरणमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

वन तथा वातावरण मन्त्रालयको नयाँ बन्न लागेको संगठन सर्वेक्षणमा आफ्ना माग पुरा गर्नुपर्ने बताउँदै सोमबार नेपाल वन प्राविधिक संघ र फरेष्ट टेक्निसियन्स एसोसिएसन अफ नेपालले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो।

उक्त ज्ञापनपत्रमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागको प्रमुखमा प्रशासन सेवाको सहसचिव रहने व्यवस्था भएकोमा विभागको कामको प्रकृति, विशिष्टता एवम् संवेदशीलता आदिलाई मध्यनजर गर्दा सो क्षेत्रको योग्यता अनुसारको विज्ञता एवम् अनुभवको विशिष्टता प्राप्त गरेको व्यक्ति मात्रै उपयुक्त हुने भएको हुनाले नयाँ र विशिष्ट परिस्थितिमा वातावरण विभागमा वन सेवाको सहसचिव नै प्रमुखको रुपमा ल्याउनुपर्ने माग गरिएको छ।

त्यसैगरी वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको हरियाली प्रवद्र्धनको महाअभियानलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न वातावरण विभागमा नेपाल वन सेवाको सहसचिवको नेतृत्वमा एउटा छुट्टै महाशाखाको स्थापना गर्नु पर्ने, वृहत जलाधार क्षेत्रको एकीकृत व्यवस्थापन गरी भू–क्षय, बाढी, पहिरो, नदी कटानलाई नियन्त्रण तथा रोकथाम गरी भूमिको उत्पादकत्व कायम राख्न स्थापना गरिएको वेशिन कार्यालयको प्रभावकारी कार्यान्वयनको लागि हालको सन्दर्भमा सह–सचिवको नेतृत्वमा वेशिन स्तरको जलाधार व्यवस्थापन गर्न पर्याप्त जनशक्तिको व्यवस्था गर्नुपर्ने लगायतका चार बुँदे माग गरिएको छ।

यसका साथै आफ्नो मागलाई समयमा नै सम्बोधन नगरिए सम्पूर्ण वन प्राविधिकहरू चरणबद्ध रुपमा आन्दोलनमा जान बाध्य हुने समेत जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार